काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुमतिविनै सञ्चालन भइरहेको एलजी ग्लुकोज प्याकेजिङ उद्योगमाथि कारबाही गरेको छ।
विभागका अनुसार चन्द्रागिरि नगरपालिका-१५, काठमाडौँस्थित उक्त उद्योगले सरकारबाट आवश्यक अनुमति पत्र नलिई ग्लुकोज उत्पादन तथा प्याकेजिङ गरी बजारमा पठाइरहेको भेटिएको हो। २०८२ माघ २५ गते परेको उजुरीका आधारमा विभागले ‘र्यापिड रिस्पोन्स मोडालिटी’ अन्तर्गत अनुगमन तथा निरीक्षण गरेको जनाएको छ।
अनुगमनका क्रममा एउटा कोठामा ग्लुकोज प्याकेजिङ भइरहेको फेला परेपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ। सोही ऐनको दफा (३५) अनुसार बिक्री-वितरण नगर्न निर्देशन दिँदै ४ सय केजी ग्लुकोज रोक्का राखिएको छ।
विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माका अनुसार परीक्षणका लागि ग्लुकोजको नमुना समेत संकलन गरी प्रयोगशालामा पठाइएको छ।







