काठमाडौँ । आउँदो निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यसहित बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवार तथा आम नागरिकको सुरक्षालाई मध्यनजर गर्दै रुफटप (गाडीको छतमाथि चढेर तथा सवारीको छतबाट टाउको बाहिर निकालेर) प्रयोग गरिने सवारीमा रोक लगाउने निर्णय गरेको छ।
गृह मन्त्रालयमा सम्पन्न बैठकले निर्वाचन अवधिभर रुफटप गाडीको प्रयोगले सुरक्षा जोखिम बढाउने निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले प्रशासन सिंहदरबार विशेष ब्युरोसँग कुरा गर्दै निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सम्बद्ध सबै सुरक्षा निकाय तथा खटिने कर्मचारीहरूलाई स्पष्ट निर्देशन दिइएको जानकारी दिए। उनका अनुसार निर्वाचन आचारसंहिता र सुरक्षा मापदण्डको पूर्ण पालना सुनिश्चित गर्न सुरक्षा संयन्त्रलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
बैठकले मतपत्र ढुवानी प्रक्रियालाई त्रुटिरहित, सुरक्षित र पारदर्शी बनाउन विशेष समन्वयात्मक संयन्त्र सक्रिय पार्ने निर्णय गरेको छ। त्यसैगरी, मतदान केन्द्रमा खटिने कर्मचारीहरूको छनोट र परिचालनमा निष्पक्षता तथा तटस्थता कायम गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रवक्ता काफ्लेले बताए।
निर्वाचन व्यवस्थापनसँग जोडिएका कार्यमा विगतमा संलग्न कतिपय कर्मचारीलाई छुट तथा पुरस्कारसमेत दिइने गरेको सन्दर्भमा यसपटक भने निर्वाचनमा कुनै पनि प्रकारको धाँधलीमा संलग्न भेटिए कडा कारबाही हुने गृहमन्त्री ओम प्रकाश अर्यालले स्पष्ट पारेको अधिकारीहरूले बताएका छन्। उनले सबै कर्मचारीले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित तवरले सम्पन्न गर्न तटस्थ भूमिका खेल्नुपर्ने बताउँदै अनुशासन र पारदर्शितामा कुनै सम्झौता नहुने धारणा व्यक्त गरेको ती अधिकारीहरूको भनाइ छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा संवेदनशीलता बढ्दै गएको अवस्थामा केन्द्रीय सुरक्षा समितिको पछिल्लो निर्णयलाई समग्र निर्वाचन वातावरणलाई मर्यादित र व्यवस्थित बनाउने प्रयासका रूपमा हेरिएको छ।







