काठमाडौँ। आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटा जिल्लाबाट २ हजार ३०८ जना अस्थायी मतदाताले मतदान गर्ने भएका छन्।
जिल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ।
यस समूहमा कैदीबन्दी, निर्वाचन कार्यमा संलग्न नभएका कर्मचारी तथा सुरक्षाकर्मी समावेश छन्। निर्वाचनमा प्रत्यक्ष रूपमा खटिएका कर्मचारीले भने आफू कार्यरत मतदान केन्द्रमै मतदान गर्न सक्ने व्यवस्था गरिएको छ।
अस्थायी मतदाताका लागि जिल्लामा दुई स्थानमा मतदान केन्द्र निर्धारण गरिएको छ। कैदीबन्दीका लागि जिल्ला कारागार कार्यालय परिसरमा केन्द्र तोकिएको छ भने कर्मचारी र सुरक्षाकर्मीका लागि धनकुटा-६ सिरानबजारस्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयमा अस्थायी मतदान केन्द्र राखिएको छ।
कार्यालयका अनुसार अस्थायी मतदान गर्नेहरूमध्ये ७६ जना कैदीबन्दी र २ हजार २३२ जना कर्मचारी तथा सुरक्षाकर्मी रहेका छन्। अस्थायी मतदाताले प्रत्यक्षतर्फका उम्मेदवारलाई भने मत दिन पाउने छैनन्।







