काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्ने बताएका छन्।
पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब काँग्रेस नयाँ रूपमा रूपान्तरण भएर आएको भन्दै नेता र नेतृत्व दुवै बदलेको बताए।
उनले भने, ‘हामीले काँग्रेसमा अहिले नेता मात्रै हाइन, नीति नै परिवर्तन गरेर ल्याएका छौँ। युवा पुस्ताको आवाज र अपनत्व बोक्ने गरी परिवर्तन भएर आएका छौँ । पार्टीलाई नवीकरण गर्यौँ ।’
विशेष महाधिवेशनले नयाँ पुस्ताको भावना, चाहना र जनतासँग अझै घनिष्ठ भएर काम गर्ने अवसर दिएको बताउँदै उनले देशलाई सही दिशामा मार्ग निर्देश गरेको सुनाए। उनले काँग्रेसको गौरवलाई अक्षुण्ण राख्दै जनतामा पुनर्जागरणको थालनी गरेको र यसले निर्वाचनमा पनि प्रभाव पार्ने बताए ।
महामन्त्री घिमिरेले जेन जेड पुस्ता नेपालीको हरेक घरमा रहेको र यसले नेपाली इतिहासमा परिवर्तनका लागि ठूलो कुर्बानी गरेको भन्दै उनीहरू नै भविष्यको नेपाल भएको बताए ।
उनले जेन जेडका मागहरू जायज भएकाले नै भदौ २३ र २४ गते यो उथलपुथल भएको र राजनीतिक सुशासन कायम राख्ने कुरालाई गम्भीरतापूर्वक पार्टीले लिएको बताएका छन् ।
सबै उम्मेदवारलाई जनतासँग सजीव सम्बन्ध राख्न, हरेक जनताको घरमा घरदैलोमा जान, उनीहरूको समस्या सुन्न आग्रह गरेका छन् ।







