काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रका मतदाताबाट उल्लेख्य स्नेह र भरोसा प्राप्त भएको बताएका छन्। झापा भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
एक सातासम्म निर्वाचन क्षेत्रमा रहँदा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी विकास आयोजना, अधुरा योजना तथा क्षेत्रीय समस्याबारे जानकारी लिएको बताएका छन्। भेटका क्रममा स्थानीयले नियमित अन्तरालमा क्षेत्रमा आएर संवाद गर्ने कार्यक्रम तय गर्न सुझाव दिएको जनाइएको छ।
भ्रमण अवधिमा अध्यक्ष ओलीले मतदातासँग पर्याप्त समय बिताउँदै विभिन्न विषयमा छलफल गरेका थिए। यसैक्रममा उनले झापा भद्रपुर-१, हिमालीस्थित आगलागीबाट क्षति पुगेको आफ्ना पिताको घरको निरीक्षणसमेत गरेका थिए।
अध्यक्ष ओली पुनः आगामी फागुन ३ गते झापा जाने कार्यक्रम रहेको जानकारी दिइएको छ।







