काठमाडौँ । पूर्वी प्रशान्त महासागरमा लागु-औषध तस्करीको आशंकामा एक डुंगालाई लक्षित गरी गरिएको अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको अमेरिकी सेनाले जनाएको छ । सेनाले यो आक्रमण समुद्री लागु–औषध तस्करीको विरुद्ध चलिरहेको अभियानको एक स्वरूप भएको उल्लेख गरेको छ ।
अमेरिकी रक्षा विभागको सामाजिक सञ्जालको पेजमा पोस्ट गरिएको एक विज्ञप्तिमा युएस साउदर्न कमान्ड (साउथकम) ले संयुक्त टास्क फोर्स साउदर्न स्पियरले लागु–औषध तस्करी मार्गहरूमा अभियान सञ्चालन गरिरहेको र अवैध लागु औषध ओसार पसारमा संलग्न डुंगा माथि आक्रमण गरेको बताइएको छ ।
सन् २०२५ सेप्टेम्बरमा सुरु गरिएको “साउदर्न स्पियर” अभियान–अन्तर्गत क्यारिबियन सागर र पूर्वी प्रशान्त क्षेत्रमा संदिग्ध लागु औषध तस्करी गर्ने डुंगाहरु विरुद्ध अमेरिकी सैन्य कारबाहीको शृङ्खलामा आक्रमण भएको जनाइएको छ ।
अभियान सुरु भएदेखि भएको आक्रमणमा कम्तिमा १३० जना मारिएको रिपोर्ट गरिएको छ, भने कानुनी विशेषज्ञहरू र अधिकार समूहहरूबीच अन्तर्राष्ट्रिय जलमार्गमा त्यस्ता अपरेसनहरूको वैधानिकता र निरीक्षणको बारेमा बहस सुरु भएको छ ।







