काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा पालिकामा खटाएका कर्मचारीको बढुवा भएपछि पालिकामा समस्या भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव हिरालाल चौधरी सहसचिवमा बढुवा भएपछि पालिकामा प्रशासनिक काम गर्न समस्या भएको हो । मन्त्रालयले गत पुस ११ गते उपसचिव हिरालाल चौधरीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई जीतपुरसिमरा पठाएको थियो। तर चौधरी केही ढिलो गरी पालिकामा हाजिर भएका थिए। उनले पालिकामा जम्मा तीन दिन मात्र हाजिर गरेको उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।
नगर प्रमुख पौडेलका अनुसार चौधरी पालिकामा आए लगत्तै मन्त्रालयले उनलाई सहसचिवमा बढुवा गरेको थियो। बढुवा अघि उनले सामाजिक सुरक्षा भत्ता वितरण र केही कर्मचारीको तलब भत्ता निकासा गर्ने काम मात्र गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाज प्रभावित भएको र नगर सभा समेत प्रमुख प्रशासकीय अधिकृत बिना नै गर्नुपरेको नगर प्रमुख पौडेलले जानकारी दिए।
यस विषयमा आफूले मन्त्रालयमा पटक-पटक जानकारी गराए पनि सुनुवाइ नभएको उनले बताए। अहिले निर्वाचन आचारसंहिता लागू भएका कारण मन्त्रालयले सरुवा गर्न नसक्ने अवस्था भए पनि सहसचिव दरबन्दी भएको पालिकामा सहसचिवलाई पदस्थापन गर्न कानुनी बाटो रहेको उनको भनाइ छ।
तलब नपाउँदा पालिकाभरका कर्मचारी आन्दोलनमा उत्रिन सक्ने चेतावनीसमेत आएको नगर प्रमुख पौडेलले बताएका छन्।







