काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुमति नलिई खाद्य पदार्थको प्याकेजिङ तथा बिक्री वितरण गरेको अभियोगमा काठमाडौँका दुई खाद्य व्यवसायमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।
विभागसहित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ महानगरपालिकाको संयुक्त अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका-१३, कालिमाटीस्थित शंकर खाद्य स्टोर र माँ भवानी खाद्य किराना स्टोरले अनुमति नलिई खाद्य पदार्थ प्याकेजिङ गरी बिक्री वितरण गरेको पाइएको विभागले जनाएको छ।
अनुगमनका क्रममा शंकर खाद्य स्टोरले नेपाल इन्टरनेशनल प्याक्स एण्ड ट्रेडिङ प्रा.लि., नेपालद्वारा उत्पादित ४०० ग्राम तौलका २३ प्याकेट दाना धनियाँ, भारतको गुजरातस्थित एम्बर ललिता पटेल, उन्जा-३८४१७०, उत्तर गुजरात, भारत लेखिएको प्लास्टिक प्याकेटमा १/२ के.जी.का २ प्याकेट र १ के.जी.का ६ प्याकेट जिरा तथा सोही उत्पादक उल्लेख गरिएको १/२ के.जी.का १८ प्याकेट ज्वानो र १/२ के.जी.का ११ प्याकेट सौंफ बिक्री वितरणका लागि राखिएको पाइएको छ।
त्यस्तै, माँ भवानी खाद्य किराना स्टोरमा पनि सोही भारतीय उत्पादक उल्लेख गरिएको ५०० ग्राम तौलका प्लास्टिक प्याकेटमा १७.५ प्याकेट दाना धनियाँ तथा सोही विवरणको प्याकेटमा ९१ प्याकेट दाना जिरा बिक्रीका लागि राखिएको भेटिएको विभागले जनाएको छ।
खाद्य पदार्थ ऐन तथा नियमावलीअनुसार खाद्य उद्योग दर्ता र खाद्य अनुमति पत्र नलिई प्याकेजिङ तथा बिक्री वितरण गर्नु गैरकानुनी भएको भन्दै विभागले दुवै व्यवसायलाई तत्काल त्यस्तो कार्य नगर्न निर्देशन दिएको छ। साथै, थप अनुसन्धानका लागि सम्बन्धित खाद्य पदार्थका नमुना संकलन गरिएको र दुवै व्यवसायका सञ्चालकलाई ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागकी प्रवक्ता बालकुमारी शर्माले जनाएकी छिन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य पदार्थको उत्पादन, प्याकेजिङ र बिक्री वितरणमा कानुनी मापदण्डको पालना अनिवार्य रहेको छ। विभागले यस्ता अनुगमनलाई आगामी दिनमा अझ सघन बनाइने जनाएको छ।







