काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा नरहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ सन्देश जारी गर्दै संयोजक प्रचण्डले हजारौँ सहिदको सपना पूरा गर्न आफूले संघर्ष गरिरहेको बताएका हुन्।
उनले एउटा मानिसले आफ्नो जीवनमा जे-जति गुमाउन सक्छ ती सबै गुमाएको पनि उल्लेख गरेका छन्। ‘तर यो संघर्ष व्यक्तिगत होइन, हजारौँ सहिदको सपना पूरा गर्ने यात्रा हो,’ उनले भने, ‘आफ्नो परिवार र कमरेडहरूको बलिदान खेर जाने छैन भन्ने मलाई थाहा छ। परिवर्तन अनिवार्य छ र भएर छाड्नेछ।’
युवाहरूले उठाउँदै आएको भ्रष्टाचार अन्त्य, पारदर्शीता र बलियो सरकारका विषय आफूले ‘जनयुद्ध’देखि उठाएको पनि ‘प्रचण्ड’को भनाइ छ।
मुलुकमा राजनीतिक स्थिरता र विकासका लागि अहिलेको व्यवस्थाभन्दा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था उत्तम हुने दाबी उनको छ।
साथै उनले आफू हार मान्न तयार नरहेको पनि उल्लेख गरेका छन्। ‘प्रचण्ड’ रुकुम पूर्वमा उम्मेदवार छन्।







