काठमाडौँ। बैतडी जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक हजार चार सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर रहेका २१४ मतदान केन्द्रमा कुल १ हजार ४४२ जनशक्ति खटाइने तयारी गरिएको छ।
निर्वाचन व्यवस्थापनका लागि आवश्यक जनशक्ति सुनिश्चित गर्न जिल्लास्थित सरकारी कार्यालयहरूबाट विवरण संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए। प्राप्त विवरणका आधारमा मतदान केन्द्रअनुसार कर्मचारीको जिम्मेवारी तोक्ने प्रक्रिया अघि बढाइने उनले बताए।
एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा हाल ११ जना उम्मेदवारको उम्मेदवारी कायम छ। जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्, जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र अन्य दुई मतदाता समावेश छन्।
निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा आठ जना र सोभन्दा कम मतदाता भएका केन्द्रमा सात जनाका दरले कर्मचारी परिचालन गरिनेछ।
सुरक्षाको दृष्टिले जिल्लाका मतदानस्थलहरूलाई फरक-फरक श्रेणीमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक्षा समितिको मूल्यांकन अनुसार १२९ मतदानस्थलमध्ये ३३ स्थल अतिसंवेदन शील, २८ संवेदनशील र ६८ स्थल सामान्य श्रेणीमा राखिएका छन्।







