काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, संस्कृति, परम्परा र सभ्यताको संरक्षण अत्यन्त आवश्यक रहेको बताएका छन्।
थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उनले मौलिक संस्कृति संरक्षणमा आयोगले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारुले बिहीबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१-०८२ मा आयोगले सम्पादन गरेका काम-कारबाही समेटिएको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख मियाँलाई हस्तान्तरण गरेका हुन्।
उक्त प्रतिवेदनमा थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र पहिचान संरक्षणका लागि आयोगले गरेका गतिविधिहरू समेटिएका छन्।
सो अवसरमा प्रदेश प्रमुख मियाँले पौराणिक थारु कला, संस्कृति र सभ्यताको चर्चा गर्दै अहिलेको पुस्ताले आफ्नो पहिचान बिर्सँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्।
मुलुकमै सबैभन्दा बढी थारु समुदायका नागरिक कैलालीमा बसोबास गरिरहेको उल्लेख गर्दै प्रदेश प्रमुख मियाँले उनीहरूको हक र अधिकार सुनिश्चित गर्न आयोगले गरिरहेको कामबारे पनि चर्चा गरेका छन्।
आयोगका अनुसार कैलाली जिल्लामा मात्रै थारु समुदायको जनसंख्या ३ लाख ३२ हजार ९९० रहेको छ।







