काठमाडौँ। नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशन गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन अनुरोध गरेको पत्र निर्वाचन आयोग पुगेको छ ।
पार्टीको विधान १७ (२) अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन गर्नरगराउन पार्टी नेतृत्वलाई निर्देशन दिनू भन्दै पत्र प्राप्त भएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पुष्टि गरे ।
विशेष पक्षधरले निर्वाचन आयोगलाई पत्र पुस १६ मै पठाएका हुन् । आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पार्टीको आन्तरिक विवादमा प्रवेश नगर्ने बताए ।
‘कुनै पनि पार्टीको अन्तरपार्टी संघर्षमा हामी प्रवेश गर्दैनौँ । पार्टीको नियमित महाधिवेशनमा प्रतिनिधि पठाउन आग्रह गर्दा त हामीले त्यसो गर्दैनौँ । यो त विवाद भएको विषय भयो,’ उनले भने, ‘निर्वाचन आयोग पार्टीको आन्तरिक झगडा रेकी गरेर बस्दैन ।’
यतिबेला काँग्रेसभित्रको विशेष महाधिवेशन पक्षधर र त्यसको विपक्षमा रहेकाहरूबीच विवाद चर्किँदो छ ।







