काठमाडौँ । रिङरोडमा चल्ने सार्वजनिक यातायातको बसमा पकेटमारी गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरीले गौशालाबाट मयुर यातायातको बसमा लाखौँ रकम पकेटमारी गर्ने ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३७ वर्षीय सरोज खड्का , ४२ वर्षीय विकास लामा, ३३ वर्षीय राजु गुरुङ र ३३ वर्षीय सुवास मगर रहेका छन् ।
बाग्लुङ घर भई काठमाडौँ मित्र नगर बस्ने ३७ वर्षीय दिपेन्द्र शर्मा २ लाख ७५ हजार झोलामा बोकेर बुधबार बिहान ११ बजे सिनामंगलबाट मयुर यातायातको बसमा चढेका थिए ।
तर गौशाला पुगेपछि शर्माले बोकेको कालो रङको साइट ब्यागमा राखेको २ लाख ७५ हजार पकेटमारी भयो । उनले तुरुन्तै प्रहरी वृत्त गौशालामा निवेदन दिए ।
प्रहरीले अनुसन्धान गर्दा सोही दिन बेलुकी ५ बजे पकेटमारीमा संलग्नलाई पक्राउ गरेको बताइएको छ । उपलब्ध श्रोत साधन र प्रविधिको प्रयोग गरी पकेटमारालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट नगदसहित अन्य सामग्री समेत फेला पारेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







