काठमाडौँ । मनलाग्दी सरुवा गर्ने मात्र होइन, आवश्यक ठाउँमा कर्मचारी खटाउन नसक्ने र आवश्यकता नै नभएको ठाउँमा थुपार्ने गरेको आम गुनासोबाट अछुतो रहन सकेको छैन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । यसैका कारण बेलाबेलामा कर्मचारीहरू दिक्क भएर न्यायको लागि प्रशासनिक अदालतसम्म पुग्ने गरेका छन्।
वैदेशिक रोजगार विभागबाट सरुवा भएका दुई उपसचिव उपेन्द्रराज पौड्याल र लवराज जोशीले सरुवा बदरको माग गर्दै प्रशासनिक अदालतमा मुद्दा दायर गरेका छन्। मन्त्रालयले पुस ११ गते उनीहरूलाई अन्य विभाग तथा समूहमा सरुवा गर्ने निर्णय गरेको थियो। पौड्याललाई गृह मन्त्रालय वा यस अन्तर्गत र जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको थियो।
विभागमा भने सामान्यको अतिरिक्त समूहबाट कृष्णकुमारी गौली तिवारी र राजेश्वरी खत्री सापकोटा पठाइएका थिए। उपसचिव द्वय पौड्याल र जोशीले एक वर्ष पनि नपुगी अन्यायपूर्ण सरुवा भएको भन्दै अदालतमा मुद्दा दायर गरेका हुन्। प्रशासनिक अदालतका अध्यक्ष डा. टेकबहादुर घिमिरे, नवलकिशोर यादव र आलोकचन्द्र श्रेष्ठको इजलासले दुवै पक्षसँग छलफलको लागि पेश गर्ने भनेका छन् ।
उपसचिव पौड्यालले मन्त्रालयमा सरुवाको चरम बेथिति भएको भन्दै भने, “मन्त्रालयले कर्मचारी सरुवा गर्दा कानुनको पालना गरेको देखिँदैन। निजामती कर्मचारीको सरुवा गर्दा कानुनको सम्मान गर्दै कम्तीमा दुई वर्षको अवधि सुनिश्चित गर्नुपर्ने हो, तर हालैको सरुवामा यस्तो भएको छैन।”
उनले थपे, “जीवनभर काठमाडौँ उपत्यका बाहिर लामो समय काम गरे पनि अहिले मन्त्रालयमा आएको एक वर्ष नपुगी कानुन विपरीत अन्यत्र सरुवा भई गृह मन्त्रालयको अतिरिक्त समूहमा पठाइएँ। इमान्दारीपूर्वक काम गरे पनि कानुनको उल्लंघन भएको छ।” उपसचिव जोशी पनि कानुन विपरीत सरुवा गरिएको बताउँछन्।
महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले पनि मन्त्रालयले विभिन्न श्रेणीका कर्मचारीलाई पटक–पटक काजमा राख्ने गरेको औँल्याएको छ। कानुन अनुसार प्रत्येक वर्ष भदौ महिनामा नियमित सरुवा टुङ्ग्याउनुपर्ने व्यवस्था भए पनि मन्त्रालयले वर्षभरि बेमौसम सरुवा गर्दै आएको प्रतिवेदनमा उल्लेख छ।
निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० अनुसार कर्मचारी सरुवा गर्दा कम्तीमा दुई वर्षको अवधि सुनिश्चित गर्नुपर्ने व्यवस्था छ। तर, मन्त्रालयले विभिन्न कारण देखाउँदै समयअघि र बेमौसम सरुवा गरेको सूचीहरूबाट बाट नै स्पष्ट हुन्छ ।







