२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरछेउको फरक नगर: योजनाबद्ध विकास, बस्नलायक शहर बनाउने सपना

अ+ अ-

काठमाडौँ महानगरको छेवैमा, हरियाली पहाडको फेदमा अबस्थित बुढानीलकण्ठ नगरपालिकाले योजनाबद्ध विकासमार्फत् पर्यटकले हेर्नलायक र नगरबासी बस्नलायक सुन्दर नगर बनाउने परिकल्पना साकार पार्न मिहिनेत गरिरहेको छ।

काठमाडौँ। काठमाडौँ उपत्यकाको उत्तर किनारमा अवस्थित छ बुढानीलकण्ठ नगरपालिका । छेउमै हरियाली पहाड, कतैकतै कलकल बग्ने खोला, चराचुरुङ्गीको चिरबिर आवाज । थोरै माथि उक्लियो भने आँखाले देखेर पनि नभ्याइने काठमाडौँ उपत्यकाको सुन्दर दृष्याबलोकन गर्न सकिने ।

करिब एक दशक जति पहिले यो ठाउँ शहर जस्तो थिएन । अनकण्टार गाउँ जस्तै भन्दा फरक पर्दैन्थ्यो । विकासका पूर्वाधार खास केही थिएनन् । केही गर्ने स्रोत थिएन । गर्ने जनप्रतिनिधि थिएनन् । तर करिब एक दशकमै यसका धेरै परिचय बदलिएका छन् । किनभने यो नगरपालिका त्यसयता निरन्तर ‘स्वच्छ, शान्त र समृद्ध शहर’ बन्ने धुनमा अघि बढेको छ । र पछिल्लोसमय त नगरपालिकाले यसलाई अभियानकै रुपमा अघि बढाएको छ ।

देश संघीय संरचनामा गएसँगै अस्तित्वमा आएका स्थानीय सरकारलाई यसको श्रेय जान्छ । त्यसमा पनि २०७९ को दोस्रो स्थानीय तहको निर्वाचनमार्फत आएका जनप्रतिनिधि नगरबासीको अपेक्षामा खरो उत्रिन अहोरात्र खटेका छन् ।

भूकम्पपछिको पुनरोत्थान हुँदै योजनाबद्ध विकासको यात्रा
२०७१ मंसिर १६ गते ६ वटा गाविसलाई एकीकृत गरेर बुढानीलकण्ठ नगरपालिका घोषणा गरिएको थियो । तर नगरपालिका बनेको पाँच महिनामै यसले ठूलो झट्का ब्यहोर्नु पर्यो । किनभने पाँच महिनापछि, २०७२ वैशाख १२ गते देशले ठूलो विनाशकारी भूकम्प ब्यहोर्यो । त्यो यस्तो भूकम्प थियो जसले करिब ९ हजार नेपालीको ज्यान लियो, लाखौँलाई घरबारबिहीन बनायो, अनि खर्बौंको विनाश गर्यो । त्यसबेला क्षति भएका कतिपय संरचना आजसम्म पनि बन्न सकेका छैनन् ।

नगरपालिकाका रुपमा बामे सर्न नथाल्दै भोग्नुपरेको यो बज्रपात बुढानीलकण्ठका लागि त झन् अकल्पनीय थियो । भर्खर भर्खर नगरपालिकाका लागि संस्थागत संरचना निर्माण शुरु मात्र भएको थियो, यस्तो संकटले नगरपालिकाका योजना, पूर्वाधार र प्रशासनिक कामहरू सबै ठप्प पारिदियो ।

शुरुआतमै यस्तो बज्रपात ब्यहोरेको नगरपालिकाले त्यसबाटै सिकेर पनि विकासमा एउटा फरक शुरुआत गरेको थियो। किनभने भूकम्पपछिको पुनर्निर्माणका काम बढाउँदा उसले केही न केही रुपमा त्यसभित्र योजनाबद्ध विकासका अवधारणा समेट्यो । त्यहीक्रममा त शुरुमा १७ वडा रहेको नगरपालिकाको संरचनालाई पछि १३ वडामा कायम गरियो । अनि यहाँको जनसंख्याको ‘युनिक’ विशेषतालाई ध्यानमा राखेर अरु योजना तर्जुमा र लागु गर्न थालियो । यहाँको जनसंख्यालाई युनिक यसकारण भनिएको हो कि यहाँ स्थायीसँगै अस्थायी (बसोबास भएको, तर सम्पत्ति यहाँ नभएको) जनसंख्या पनि ठूलो छ। यबी दुबैखाले जनसख्ंया मिलाउँदा यहाँको जनसंख्या ४ लाख हाराहारी पुग्छ । जनसंख्याको यही बनोटलाई ध्यानमा राखेर यहाँ पूर्वाधार, सेवा र शहरी सुविधाका योजना बनाउन थालियो ।

त्यसमा आधारभूत पूर्वाधार विकासलाई फरक तवरबाट अंगीकार गरिएको छ । जस्तो, यसका लागि आन्तरिक आयस्रोत बिस्तारलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै, संघ र प्रदेश सरकारको सहयोग पनि लिइएको छ । यी सबै सहयोगबाट योजना बनाएर काम गर्दा बुढानीलकण्ठ नगरपालिकाले आधारभूत पूर्वाधार विकासमा पछिल्ला वर्षहरूमा उल्लेख्य फड्को मारेको छ । सडक निर्माण र बिस्तार, ढल निकास–नाला निर्माण, पार्क विकास, सार्वजनिक स्थलहरुको स्तरोन्नति, बिजुली प्रणाली सुधार, उज्यालो नगर कार्यक्रम, सडकबत्ती जडान, खानेपानी व्यवस्थापन र ‘मेयर सुरक्षित नगर’ जस्ता पहलले नगरको भौतिक स्वरूप क्रमश: बदलिरहेका छन् ।

वडा कार्यालयहरूको भौतिक सुधार र सेवामा पहुँच बिस्तारसँगै स्थानीय सरकार र नागरिकबीचको संवाद र सम्पर्क बढेको छ । त्यसले एकापसमा विश्वास पनि सुदृढ बन्दै गएको छ । पहाडी भूगोल र जटिल भू–आकृति हुँदाहुँदै पनि बुढानीलकण्ठ नगरपालिका काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा गतिशील पूर्वाधार विकास क्षेत्रका रूपमा देखापर्न थालेको छ ।

यसले नगरको भौतिक बनावट मात्र होइन, नगरबासीको जीवनस्तर, आर्थिक गतिविधि र सामाजिक पहुँचमा पनि परिवर्तन ल्याएको देखिन्छ । नगरक्षेत्रमा बस्ती विस्तारको गति तीब्र छ । यो गति पूर्वाधार निर्माण भन्दा अगाडि भए पनि नगरपालिकाले आवश्यक सन्तुलन कायम राख्ने लक्ष्यसहित काम गरिरहेको छ ।

वडा कार्यालय भवन, कोशेली घर, सामुदायिक भवन, कपन ह्यान्डबल कोर्ट, चिसेनी सडक, चण्डेश्वरी सडक तथा विभिन्न पार्कजस्ता गौरवका परियोजनाहरू सम्पन्न भइसकेका छन् । केही ठूला आयोजनाहरू अझै निर्माणाधीन छन् ।

नगरपालिकाले भौतिक संरचनामा मात्र सीमित नभई कृषि, उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य र पर्यटनसँग सम्बन्धित क्षेत्रमा समेत न्यूनतम गुणस्तरका तथा विपद्–प्रतिरोधी पूर्वाधार निर्माणमा जोड दिइरहेको छ । जनसंख्या वृद्धिदरका कारण उपलब्ध पूर्वाधारले सम्पूर्ण आवश्यकता थेग्न नसके पनि योजनाबद्ध विकासले भविष्यप्रतिको आशा जगाउने काम गरेको छ ।

खानेपानीको क्षेत्रमा समेत नगरपालिकाले महत्वपूर्ण प्रगति हासिल गरेको छ । परम्परागत कुवा, धारा र पँधेराले अझै योगदान देइरहेका छन् भने शहरीकरणसँगै बढ्दो माग पूरा गर्न शिबपुरी पहाड र शिबपुरी राष्ट्रिय निकुञ्जका जलस्रोत महत्वपूर्ण आधार बनेका छन् । सतही स्रोतसँगै भू–गर्भीय जलस्रोत पनि उपयोगमा ल्याइएको छ ।

यद्यपि, चपली–भद्रकाली र कपन क्षेत्रका बासिन्दा अझै खानेपानीको समस्या खेपिरहेका छन् । यसको दीर्घकालीन समाधानका लागि नगरपालिकाले नयाँ स्रोत पहिचान गरिरहेको छ भने मेलम्ची खानेपानी आयोजनासँग सहकार्य गर्दै स्थायी समाधानका विकल्पहरू पनि खोजिरहेको जनाएको छ ।

नगरपालिकालाई स्वच्छ, शान्त र समृद्ध बनाउने यी र यस्ता अभियानलाई जनसहभागितामा आधारित बनाएको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला बताउँछन् । भन्छन् “हामीले स्वच्छ, शान्त र समृद्ध बुढानीलकण्ठको नारा दिएका हौँ, तर यो नारा मात्र रहेन । जनताको प्रत्यक्ष सहभागिता, पारदर्शी योजना र कर्मचारीको इमान्दार प्रयासले यो नारा अब वास्तविकतामा बदलिँदै छ । पूर्वाधार होस् वा सामाजिक सुरक्षा, हरेक काममा नागरिकको विश्वास र साथ हाम्रो सबैभन्दा ठूलो पूँजी बनेको छ ।”

सामाजिक विकासका क्षेत्रमा उपलब्धि
भौतिक पूर्वाधार विकास प्राथमिकतामा छ नै, बुढानिलकण्ठ नगरपालिकाले सामाजिक क्षेत्रलाई पनि उत्तिकै महत्व दिइएको छ । यो प्राथमिकताले पछिल्ला वर्षहरूमा महत्वपूर्ण उपलब्धिहरू हात परेका छन् । जस्तो, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू तथा अन्य पछाडि पारिएका समुदायलाई लक्षित गरेर सञ्चालित कार्यक्रमहरूले स्थानीय सामाजिक संरचनामा समावेशिता, पहुँच र अधिकार सुनिश्चितताको आधार बलियो बनाएका छन् । विशेषत: सामाजिक सुरक्षा भत्ता वितरणको पारदर्शी प्रणाली, लैंगिक न्यायलाई प्राथमिकता दिने नीति र बालमैत्री नगरका उद्देश्यअन्तर्गत अघि बढाइएका हस्तक्षेपहरूले समुदायमा राज्यप्रतिको भरोसा थप बढाएको छ ।

नगरपालिकाले सञ्चालन गर्दै आएका सुरक्षा कार्यक्रम तथा सामुदायिक सचेतना अभियानहरूले जोखिम न्यूनीकरण, हिंसामुक्त समाज निर्माण, महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा कमी ल्याउने प्रक्रियालाई बलियो बनाएका छन् । विद्यालयस्तरमै मानसिक स्वास्थ्य, पोषण, स्वच्छता र स्वास्थ्य सुरक्षा सम्बन्धी जागरण कार्यक्रमले विद्यार्थी तथा अभिभावक दुवैलाई लाभान्वित बनाएको छ ।

यस्तै, सामाजिक सेवा प्रवद्र्धनका गतिविधिहरू सञ्चालन गरिएका छन् । जस्तो, घरमै पुगेर सेवा प्रदान गर्ने कार्यक्रम, अपांगता परिचयपत्र तथा अनुदान प्रक्रियाको सरलीकरण, ज्येष्ठ नागरिकमैत्री सेवाको बिस्तारले सेवा पहुँचलाई सहज र प्रभावकारी बनाएको छ । स्थानीय महिलामाझ उद्यमशीलता, सीप विकास तथा आत्मरोजगार कार्यक्रमले आर्थिक सशक्तिकरणलाई सुदृढ बनाउँदै लगेका छन् ।

स्वास्थ्य क्षेत्रमा समेत देखिनेगरी उल्लेखनीय प्रगति भइरहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति, मातृ–शिशु स्वास्थ्य सेवा विस्तार, नियमित स्वास्थ्य शिविर, नि:शुल्क स्वास्थ्य परीक्षण तथा सार्वजनिक स्वास्थ्य सचेतना कार्यक्रमले समुदायको स्वास्थ्यस्तर उकासिएको पालिकाले तयार पारेको आँकडाले देखाउँछ । साथै, विद्यालय स्वास्थ्य कार्यक्रम र पोषण सुधार योजनाले बालबालिकाको समग्र स्वास्थ्यमा सुधार ल्याएका छन् ।

समुदायमा आपतकालीन अवस्थाको प्रतिक्रिया क्षमता बढाउन नगरपालिकाले दैवी विपद् तयारी तथा जोखिम व्यवस्थापनसम्बन्धी तालिम, उपकरण आपूर्ति र आपतकालीन सहायता संयन्त्रलाई समेत बलियो बनाएको छ ।

नगरपालिकाको योजना अनुगमन तथा मुल्याङ्कन महाशाखा प्रमुख अजित घिमिरेले नगरपालिकाले भौतिक पूर्वाधारदेखि सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि र पर्यावरणसम्म बहुआयामिक विकासलाई प्राथमिकतामा राखेको जानकारी दिए । उनले नागरिक सहभागिता र पारदर्शिता सुनिश्चित गरी समृद्ध, सुरक्षित र बस्न–हेर्नलायक पर्यटकीय शहरको लक्ष्यतर्फ पालिका द्रूत गतिमा अघि बढिरहेको बताए ।

सेवा, व्यापार र कृषि: आर्थिक विकासका तीन आधार
बुढानीलकण्ठ नगरपालिका औद्योगिक क्षेत्रको परिचयबाट अलि टाढा छ । यसको आर्थिक संरचना सेवामूलक व्यवसाय, साना–ठूला व्यापार तथा परम्परागत कृषि–पशुपालनमा निर्भर रहँदै विकसित हुँदै आएको छ । त्यसमा पनि सेवा क्षेत्रले सबैभन्दा ठूलो हिस्सा ओगट्दै आएको छ । यस अन्तर्गत होटल–रेस्टुरेन्ट, कोचिङ सेन्टर, विद्यालय–महाविद्यालय, स्वास्थ्य सेवा, आईटी तथा विभिन्न परामर्श सेवाहरू निरन्तर बिस्तार भइरहेका छन् । बढ्दो शहरीकरणले यस्ता सेवामूलक उद्यमको माग वर्षैपिच्छे बढाइरहेको छ ।

ठूला उद्योगहरूको अभावका बावजुद पनि घरेलु उद्योग, साना तथा मध्यम सेवामूलक उद्योगहरू ठूलो संख्यामा दर्ता भई सञ्चालनमा छन् । फलफूल प्रशोधन, बेकरी, हस्तकला तथा निर्माण–सम्बन्धी साना उद्यमले स्थानीय रोजगारी सिर्जना गरेका छन् । बजार क्षेत्रको बिस्तारसँगै खुद्रा तथा थोक व्यापार, कन्भिनियन्स स्टोर, हार्डवेयर, होम–स्टे व्यवसायसमेत तीब्र गतिमा बढ्दै गएका छन् ।

द्रूत गतिमा फैलिँदो आवासीय विकासले नगरको कृषि भू–भागमा उल्लेखनीय असर पारेको छ । खेतीयोग्य जमिन क्रमश: आवासीय प्लटमा रुपान्तरण हुँदै जाँदा कृषि उत्पादनको क्षेत्रफल खुम्चिँदै गएको छ । अहिले नगरपालिकाको करिब एकतिहाइ भन्दा बढी भू–भाग आवासीय प्रयोजनका लागि प्रयोग भइसकेको नगरपालिकाको तथ्यांकले नै देखाउँछ जसले यहाँ भइरहेको द्रूत शहरीकरणको दिगो असर देखाउँछ ।

यद्यपि कृषि र पशुपालन अझै पनि धेरै परिवारका लागि मुख्य आयस्रोत बनेको छ । विशेषगरी दुग्ध व्यवसाय बुढानीलकण्ठको कृषि अर्थतन्त्रको आधार स्तम्भ नै मानिन्छ । स्थानीय डेरी, फार्म हाउस र सहकारी संस्थाले दुध तथा दुग्धजन्य पदार्थको आपूर्ति चक्र सुदृढ बनाउँदै किसानलाई स्थायी र भरपर्दो आम्दानी दिलाइरहेका छन् । बाख्रापालन, कुखुरापालन, मौरीपालन र साना पशुपालनका क्रियाकलापहरूले पनि ग्रामीण–मिश्रित शहरी बस्तीको आयमा स्थिरता कायम गर्न मद्दत गरेको छ ।

द्रुत गतिमा फैलिँदो आवासीय विकासले नगरको कृषि भू-भागमा उल्लेखनीय असर पारेको बताउँदै योजना अनुगमन तथा मुल्याङ्कन महाशाखा प्रमुख घिमिरेले यसलाई जोगाउन पालिकाले विशेष योजना तयार पारेर अगाडि बढेको बताए ।

पशुपालनलाई जोड दिन वडा नम्बर १३ मा पशुपालनसम्बन्धी तालिम लगायतका कार्यक्रम सञ्चालन गरिएको, अन्य किसानलाई पनि आवश्यक पर्ने क्रियाकलापहरू गरिरहेको उनी बताउँछन् ।

नगरपालिकाले केही वर्षयता कृषिका सम्भावना जोगाउन र कृषिमा आधुनिकीकरण शुरु गर्न थप कार्यक्रम पनि अघि सारेको छ । जस्तो, जैविक खेती प्रवद्र्धन, साना किसानलाई प्राविधिक सहयोग, तरकारी तथा फलफूल उत्पादनमा प्रविधिको प्रयोग, सहकारीमार्फत बजारमा पहुँच बिस्तार जस्ता प्रयासले कृषि क्षेत्रमा सम्भावना कायम राखिरहने लक्ष्यमा सघाएका छन् । समग्रमा सेवा–व्यापार र कृषि–पशुपालन एकअर्काका पूरक बनेर बुढानीलकण्ठको नयाँ खाले आर्थिक स्वरूप तयार पारिरहेका छन् ।

पर्यटनका पूर्वाधार र दीर्घकालीन तयारी
बुढानीलकण्ठ नगरपालिकाको आर्थिक विकासको आधारका रुपमा पर्यटन क्षेत्र एक महत्वपूर्ण स्तम्भका रूपमा उदाउँदै गरेको छ । नगर क्षेत्रभित्र पर्ने प्राचीन बुढानीलकण्ठ (नारायणथान) मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र होइन । त्यो वार्षिक रूपमा लाखौँ श्रद्धालु र पर्यटक तान्ने प्रमुख गन्तव्य पनि हो । यो सँगै शिबपुरी राष्ट्रिय निकुञ्जले प्रदान गर्ने जैविक विविधता, पदमार्ग, दृश्यावलोकन स्थल तथा साहसिक पर्यटनको सम्भावनाले यो नगरलाई राजधानी नजिकैको आकर्षक गन्तव्य बनाएको छ । प्राकृतिक सौन्दर्य, वनजंगल, चिसो हावापानी र धार्मिक–सांस्कृतिक सम्पदाहरूको घनत्वले नगरलाई प्रचुर सम्भावनायुक्त पर्यटनमैत्री क्षेत्रका रूपमा स्थापित गरेको छ ।

यही सम्भावनालाई व्यवस्थित बनाउँदै आर्थिक आधार बनाउन नगरपालिकाले पर्यटन गुरुयोजना तयार पारेको छ । गुरुयोजनाले नगरका सम्पदा, मार्ग, गन्तव्य बिन्दु र सम्भावित पूर्वाधारलाई दीर्घकालीन दृष्टिकोणसहित वर्गीकृत गर्दै विकासको स्पष्ट रूपरेखा बनाएको पालिकाले जनाएको छ । साथै, पर्यटन क्षेत्रलाई सञ्चालन, समन्वय तथा प्रवद्र्धन गर्न नगरस्तरीय पर्यटन बोर्ड गठन गर्ने निर्णयले संस्थागत संरचना थप मजबुत बनाएको छ । यसले निजी क्षेत्र, स्थानीय समुदाय र सरकारी निकायबीच आवश्यक सहकार्य सुनिश्चित गरेको पालिकाको भनाइ छ ।

पर्यटन पूर्वाधार बिस्तार पनि क्रमश: भइरहेका छन् । होटल, होमस्टे, रेस्टुरेन्ट, क्याफे, ट्राभल सेवा, गाइड सेवा र अन्य सहायक व्यवसायहरू बिस्तार भइरहेका छन् । विशेषगरी होमस्टे र सामुदायिक पर्यटनका पहलले स्थानीय संस्कृति, परम्परा र ग्रामीण जीवनशैलीलाई पर्यटकसमक्ष प्रभावकारी ढंगले प्रस्तुत गर्न योगदान दिएको छ । बुढानीलकण्ठ–शिबपुरी क्षेत्रको पदमार्ग, दृश्य बिन्दु, साइक्लिङ र हाइकिङ मार्गहरूलाई सुरक्षित र आकर्षक बनाउने काम पनि निरन्तर जारी छ ।

नगरपालिकाले पर्यटन सूचना केन्द्र, मार्ग संकेत बोर्ड, सरसफाइ व्यवस्थापन, पर्यटकमैत्री सार्वजनिक स्थल विकास र सम्पदा संरक्षणमा समेत ध्यान दिँदै आएको छ । धार्मिक–सांस्कृतिक सम्पदाको सूचीकरण, दिगो व्यवस्थापन तथा प्रचार–प्रसार अभियानले नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कामलाई गति दिएको छ ।

दीर्घकालीन रूपमा हेर्दा पर्यटन बिस्तारले पालिकाको सेवा क्षेत्र, व्यापार तथा स्थानीय उद्यमशीलता समेत मजबुत बनाउने सम्भावना छ । स्थानीय उत्पादन, हस्तकला, स्थानीय खाना, कृषि–पर्यटन र साहसिक गतिविधिहरूको विकासले नगरको आर्थिक संरचना नै रुपान्तरण गर्न सक्ने संकेत देखिन थालेका छन् ।

समग्रमा, बुढानीलकण्ठको धार्मिक, प्राकृतिक र सांस्कृतिक धरोहरले पर्यटनलाई सबल आधार प्रदान गरिरहेको छ । नगरपालिकाको योजनाबद्ध तयारी, पूर्वाधार विस्तार र समुदायको सक्रियताले निकट भविष्यमा बुढानीलकण्ठलाई राजधानी छेउको प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावना थप देखिएको छ ।

“बुढानीलकण्ठ अब बसोबासको ठाउँ मात्र होइन, काठमाडौँको छेउमा सांस्कृतिक सम्पदा, हरियाली र पर्यटकीय सम्भावनाले भरिएको जीवन्त शहर बन्दैछ । यो स्थानीय जनता, कर्मचारी र नेतृत्वबीचको हातेमालोले सम्भव भएको हो,” नगरलाई दीर्घकालीन रूपमा समृद्ध, सुरक्षित र पर्यटकीय शहर बनाउने संकल्प व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले भने ।

शहर विकासको नक्सा: नयाँ सोच र समूहगत सहभागिता
स्थानीय सरकार चलायमान भएसँगै बुढानीलकण्ठ नगरवासीहरूको जागरूकता ह्वात्तै बढेको छ । स्थानीय संघ–संस्था, महिला समूह, टोल विकास समितिहरू, युवाहरूको सक्रियता र सहकार्यले शहर विकासका विभिन्न आयाममा गति दिएको छ । टोलस्तरीय योजनादेखि नगरस्तरीय आयोजनासम्म नागरिकको सक्रिय सहभागिताले निर्णय प्रक्रिया र कार्यान्वयनमा नयाँ जीवन दिएको छ । यसरी सिर्जना भएको समूहगत सोचले ठूला परियोजनाहरू मात्र होइन, दैनिक जीवनसँग सम्बन्धित साना–साना विकास कार्यहरूमा पनि प्रभाव पारिरहेको छ ।

नगरभित्रका धार्मिक मठमन्दिर, ऐतिहासिक वस्ती र सांस्कृतिक सम्पदाहरूलाई जोड्ने धार्मिक तथा सांस्कृतिक सर्किट निर्माण गर्ने प्रयास पनि अघि बढाइएको छ । ‘हरियाली शहर’को अवधारणा साकार पार्न वृक्षारोपण, सार्वजनिक खुला स्थान संरक्षण, जलस्रोत व्यवस्थापन र वातावरणीय सचेतनामा नगरवासीको सहभागिता बढ्दै गएको छ । बुढानीलकण्ठमा बोटबिरुवा रोप्ने, नदी किनार सफा गर्ने, फोहोर व्यवस्थापनमा सहयोग गर्ने जस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना भइरहेका छन् । यसले नगरवासीमा प्रकृति र पर्यावरण संरक्षणप्रति गहिरो प्रतिबद्धता बढाएको छ ।

खेलकुद अर्थात् खेल पर्यटनका दृष्टिले पनि बुढानीलकण्ठलाई सम्भावनायुक्त मानिन्छ । फुटबल, क्रिकेट, बास्केटबल, ह्यान्डबल, साइक्लिङ लगायतका खेलहरूलाई हबका रूपमा विकास गर्न सकिने आधार यहाँ प्रशस्त छन् ।

अर्कोतर्फ, उपत्यकावासीकै पहिलो रोजाईमा पर्न सक्ने आवासीय शहरका रूपमा बुढानीलकण्ठ निरन्तर आकर्षण बनिरहेको छ । शान्त वातावरण, हरियाली ठाउँ, सांस्कृतिक धरोहर र खेलकुद तथा सामाजिक सुविधाहरूको संयोजनले शहरलाई बसोबासको लागि आकर्षक विकल्प बनाइरहेको छ । साथै यातायातको पहुँच, बजार सुविधा, शिक्षाको अवसर र स्वास्थ्य सेवा जस्ता आधारभूत सुविधाहरूमा पनि क्रमिक सुधार भइरहेको पालिकाका योजना अनुगमन तथा मुल्याङ्कन महाशाखा प्रमुख घिमिरेले बताए ।

तथ्याङ्कदेखि फोहर व्यवस्थापनसम्म
तीब्र गतिमा भइरहेको बस्ती विकास र वर्षैपिच्छे बढ्दो जनघनत्वले राजधानी तथा त्यस आसपासका नगरहरूमा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सडक अवस्थादेखि बजार नियमन र सार्वजनिक सुरक्षासम्म अभूतपूर्व चाप बढाएको छ । सेवाग्राहीको अपेक्षा बढ्दै जाँदा स्थानीय तहको क्षमता, स्रोत र संरचना त्यसअनुरुप सुदृढ हुन नसक्दा शहरी सेवा प्रवाह प्रभावित बन्ने अवस्था बारम्बार दोहोरिन्छ । बुढानीलकण्ठ आफै यसको भुक्तभोगी हो ।

घर–नम्बर प्रणाली, जनसांख्यिक तथ्याङ्क अद्यावधिक, भौगोलिक सूचना प्रणाली जस्ता आधारभूत प्रशासनिक संरचना अझै व्यवस्थित र पूर्ण रूपमा कार्यान्वयन हुन नसक्नु शहरी योजनाका लागि थप चुनौती बनेको छ । योजनाको प्राथमिकता निर्धारणदेखि बजेट विनियोजन र अनुगमन–मूल्यांकनसम्म सबै काम डेटामा आधारित हुनुपर्नेमा यस्ता विवरण समयमै अद्यावधिक नहुँदा दीर्घकालीन योजना प्रभावकारी बन्न सकेका छैनन् ।

फोहोर व्यवस्थापन त झन् उपत्यकाका सबै स्थानीय तहले साझा रूपमा भोगिरहेको मूल चुनौतीमध्ये एक हो । काठमाडाँै महानगरपालिकाका मेयर बालेन शाह फोहोर व्यवस्थापन गर्न नसकेर भागिरहेका छन् । बर्सेनि बढ्दो फोहोरको परिमाण, ल्यान्डफिल साइटको सीमित क्षमता, व्यवस्थापनमा देखिने अनियमितता र जनचेतनाको कमीले समस्या थप जटिल बनेको छ ।

यही चुनौतीलाई मध्यनजर गरेर बुढानीलकण्ठ नगरपालिकाले छुट्टै कार्ययोजनासहित फोहोर व्यवस्थापनमा संरचनागत परिवर्तनको प्रयास अगाडि बढाएको छ । अहिले घरघरमै फोहोरको वर्गीकरण अनिवार्य गर्ने, पुन: प्रयोग र पुनर्चक्रण प्रवद्र्धन गर्ने, समुदायस्तरमा जनसहभागिता बढाउने तथा आधुनिक प्रविधिमा आधारित व्यवस्थापन लागू गर्ने योजना नगरपालिकाले अगाडि अघि सारेको छ । जैविक फोहोरलाई कम्पोस्ट मलमा रूपान्तरण गर्ने, प्लास्टिक व्यवस्थापनमा साझेदारी मोडल अपनाउने र वातावरणमैत्री व्यवस्थापन प्रणाली विस्तार गर्दै जाने लक्ष्य नगरपालिकाले लिएको छ ।

सुशासनसँगै विकास र आत्मनिर्भरताको यात्रामा
नेपालको संविधानले स्थानीय सरकारलाई स्वशासन, आत्मनिर्णय र जनसहभागितायुक्त शासनको अधिकार दिएको छ । संविधानको यही मर्म आत्मसात गरेर बुढानीलकण्ठ नगरपालिकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई स्थानीयस्तरमा मूर्तरूप दिने प्रतिबद्धता राखेर काम गरिरहेको छ ।

नगरपालिकाले सेवा प्रवाहमा मात्र सीमित नभई सामाजिक र आर्थिक उत्थान, आधारभूत पूर्वाधार विस्तार, सुशासन प्रवद्र्र्धन र वातावरणमैत्री शहर निर्माण जस्ता बहुआयामिक कार्यमा ध्यान केन्द्रित गरेको छ । नगरवासीलाई निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी बनाउने, आफ्ना हरेक निर्णय र काममा पारदर्शिता कायम राख्ने र सार्वजनिक स्रोतको उचित व्यवस्थापन सुनिश्चित गर्ने दिशामा नगरपालिका जुटिरहेको छ ।

यसै सन्दर्भमा स्वास्थ्य, शिक्षा, यातायात, पानी आपूर्ति, सडक र सार्वजनिक सुविधा जस्ता आधारभूत पूर्वाधारको सुधारसँगै शहरमा वृक्षारोपण, खुला स्थान संरक्षण र दिगो विकासलाई प्राथमिकता दिइएको छ । महिला, युवा र विभिन्न सामाजिक समूहको सक्रिय सहभागिताले शहरको विकास कार्यमा गति थपेको छ । समग्रमा हेर्दा यो प्रयास संघर्ष, सम्भावना, उपलब्धि र अभियानको सामूहिक कथा जस्तै बनेको छ जसले स्थानीय नेतृत्व र नागरिकबीचको सहकार्यलाई झल्काउँछ ।

नगरपालिकालाई स्वच्छ, शान्त र समृद्ध पर्यटकीय शहरको रूप दिने कामलाई बुढानीलकण्ठले आफ्नो प्रमुख लक्ष्य बनाएको छ । यहाँका सांस्कृतिक सम्पदा, ऐतिहासिक स्थलहरू, हरियाली र खेलकुद सुविधाहरूले नगरलाई बसोबास र पर्यटक दुबै दृष्टित्रबाट आकर्षक बनाउने सम्भावना छ । स्थानीय सरकारले दिगो योजना, नवप्रवर्तन र जनसहभागितामार्फत यस लक्ष्यतर्फ निरन्तर पाइला बढाइरहेको पनि छ । जसको लक्ष्य हो– यसलाई साँच्चिकै बस्नलायक नगर–शहर बनाउनु ।