रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको टोलीले सोमबार झण्डै रु. साढे १८ लाख बराबरको सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएका रु. १८ लाख ४२ हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-४ बस्ने ५३ वर्षीय अलउदिन चुरिहार, सिद्धार्थनगर-६ बस्ने ५५ वर्षीय मिहाज अहमद, भारतको दिल्ली बस्ने ४८ वर्षीय सोहेब आलम, सोही स्थान बस्ने ५६ वर्षीय पवन अलि र ३८ वर्षीय साहिद मलिकलाई सामानसहित पक्राउ गरिएको छ ।







