सर्लाही । अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूका सम्झौता रद्द गरिएको छ । मलंगवा नगरपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूका सम्झौता रद्द गरेको हो । नगरपालिकाले असोज १२ गते आइतबारदेखि लागू हुने गरी उक्त निर्णयसम्बन्धी सूचना सार्वजनिक गरेको हो।
संघीय सरकारको निर्णय तथा परिपत्रको आधारमा अस्थायी र करार सेवाका सम्झौता रद्द गरिएको नगरपालिकाले जनाएको छ ।
असोज ५ गते बसेको संघीय मन्त्रिपरिषद्को बैठकले संघीय सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी वा करारमा कर्मचारी नियुक्ति गर्न नपाउने निर्णय गरेको थियो। सो निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ८ गते र अर्थ मन्त्रालयले असोज ७ गते परिपत्र जारी गरी अस्थायी तथा करार सेवा सम्झौता रद्द गर्न निर्देशन दिएका थिए।
उक्त निर्देशनको कार्यान्वयन स्वरूप मलंगवा नगरपालिकाले पनि स्वीकृत दरबन्दी बाहेक अस्थायी नियुक्ति र करार सेवामा कार्यरत सबै कर्मचारीको नियुक्ति तथा सम्झौता असोज १२ गते आइतबारदेखि लागू हुने गरी रद्द गरेको जनाएको छ।








