काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय संसद्की उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा सत्ता गठबन्धनमा सहमति नभएको बताएका छन् ।
‘‘सरकारको प्रस्तावमा संसद्ले सभामुख, उपसभामुख गठन गर्ने हो,’’ उनले भने, “उपसभामुख हटाउने चर्चा भयो होला, तर सत्ता गठबन्धनमा सहमति भएको छैन ।”
प्रेस चौतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सत्ता गठबन्धनमा सहमति भएका उपसभामुख परिवर्तन हुने बताएका हुन् ।
“राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा हुँदा उहाँ (इन्दिरा राना) उपसभामुख बन्नुभएको हो,” उनले भने, “अहिले परिस्थिति फेरिएको छ, रास्वपा सरकारमा छैन, सत्ता गठबन्धनमा सहमति भयो भने उपसभामुख परिवर्तन हुन्छ ।”
उपसभामुख हटाउने चर्चा चल्दैमा आकाशै खस्ने भो जसरी नलिन उनले आग्रह गरे । उपसभामुख इन्दिरा रानाविरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्ने तयारी काँग्रेस र एमालेले गरे पनि अन्तिम समयमा पछि हटेको भन्ने समाचार आएका थिए ।







