काठमाडौँ । उच्च अदालत विराटनगरले सहकारीको बचत अपचलन मुद्दामा अञ्जला कोइरालासहित ४ जनासँग जनही १ करोड धरौटी माग गर्ने आदेश दिएको छ ।
मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको बचत अपचलन मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी तथा तत्कालीन सञ्चालक सदस्य अञ्जला कोइराला, सञ्चालक सदस्य रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बास्कोटालाई जनही १ करोड धरौटी माग गर्ने आदेश गरेको हो।
खवास रंगेली नगरपालिका-२ का वर्तमान वडाध्यक्ष तथा सहकारीका पूर्वउपाध्यक्ष हुन् ।
शिक्षक समेत रहेकी कोइरालालाई मोरङ अदालतले पुस २४ गते १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । बास्कोटा र खवासलाई जनही ५ लाख धरौटीमा छाडेको थियो ।
धनपालथान गाउँपालिका-४ का पूर्ववडाध्यक्ष राजवंशीलाई मंसिर २८ गते जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो । माघ २१ गते अध्यक्ष शम्भुप्रसाद रौनियारलाई थुनामा पठाउने आदेश दिएको थियो । अध्यक्ष रौनियारको हकमा भने थुनामा पठाउने जिल्ला कै आदेश सदर भएको छ ।
जिल्लाको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालतको बेञ्चमा न्यायाधीशबीच राय बाझिएको थियो । गत वैशाख ११ गते न्यायाधीश श्रीधरा कुमारी पुडासैनी र केशवप्रसाद वास्तोलाबीच राय बाझिएपछि तेस्रो बेञ्चबाट आदेश भएको हो। पुडासैनीले कोइराला र राजवंशीको हकमा जिल्लाकै आदेश सदर गर्ने राय दिएकी थिइन् । बास्तोलाले जनही १ करोड धरौटीमा छाड्ने राय दिएका थिए ।







