काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेपाली भूमिमा छिमेकीहरूबाट चलखेल गरेर राष्ट्रिय सार्वभौमिकतामाथि धावा बोलेको जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उपाध्यक्ष प्रकाश ज्वालाले नेपाललाई कुनै जानकारी नदिई लिपुलेक नाकालाई भारत र चीनले व्यापारिक प्रयोजनका लागि खोल्ने सहमति गरेर एकतर्फी सौदाबाजी गरेको बताए।
उनले भने, ‘यसमा हाम्रो गम्भीर आपत्ति छ। यो सहमति अन्तर्राष्ट्रिय सन्धि सम्झौता, कानुन, पञ्चशीलका सिद्धान्त विपरीत छ। यो मिचाहा र हैकमवादी प्रवृत्ति भएन र? भारतले तत्कालै नेपालको दाबीलाई ’एकपक्षीय कृत्रिम भौगोलिक दाबी भएकोले अस्वीकार्य छ’ भनी गरेको खण्डन अझै गम्भीर छ ।’
ऐतिहासिक तथ्य, प्रमाण र नक्साले महाकाली नदी पूर्वका कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपालको अभिन्न भूभाग भएको बताए। भारत र चीनबीचको सहमतिलाई अस्वीकार गर्दै राष्ट्रियताको रक्षाका लागि भन्दै उनले सात बुँदे सुझाव अघि सारेका छन्।







