एएफपी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ यीबीच बुधवार नयाँ दिल्लीमा सौहार्दपूर्ण भेटवार्ता सम्पन्न भएको छ । उक्त वार्तामा दुवै देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने तथा आपसी चासोका विषयमा सहकार्य विस्तार गर्ने विषयमा केन्द्रित छलफल गरिएको थियो ।
प्रधानमन्त्री मोदीले भारत र चीनबीच आपसी समझदारी र विश्वास बढाउँदै विभिन्न क्षेत्रहरूमा दीर्घकालीन सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । साथै, उनले सीमासम्बन्धी मुद्दाहरूलाई शान्तिपूर्ण संवादद्वारा समाधान गर्दै यस्ता विषयहरूले द्वन्द्वको रूप नलिने वातावरण बनाउनु पर्नेमा जोड दिए ।
चीनका विदेशमन्त्री वाङ यीले आफ्नो भारत भ्रमणलाई भविष्यमा उच्चस्तरीय संवाद र सहयोगका लागि मार्ग प्रशस्त गर्ने अवसरका रूपमा लिँदै, दुवै पक्षले विभिन्न क्षेत्रमा संवाद संयन्त्र पुनः सञ्चालन गर्ने सहमति भएको जानकारी दिए। उनले चीन भारतसँग आपसी हितमा आधारित सहयोगलाई अझ सशक्त बनाउन पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।







