काठमाडौँ । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से, सेन्सिटिभ सूचकसहित समूहगत सूचक बढेका छन् ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.५१ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७७७ अंकमा कायम भएको छ । हिजो बजार ९ अंक बढेको थियो । आज पछिल्लो १५ मिनेटको भारित औसत मूल्य गणनाअघि नेप्से ९ अंक बढेको थियो ।
कारोबारका क्रममा दिउँसो साढे १ बजे नेप्से २७९६ अंकसम्म पुगेको थियो । जुन अंक आजका लागि अधिकतम रह्यो ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६३ करोडमा खुम्चियो । कारोबार रकम केही दिनयता नै घटेको छ । १४२ कम्पनीको मूल्य बढ्दा १०७ को घटेको छ ।
सबै समूहका सूचक बढेका छन्, यद्यपि वृद्धिदर सबैको १ प्रतिशतभन्दा कम रहेको छ ।







