काठमाडौँ । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । भोलि सोमबार दिउँसो ३ बजेका लागि समिति बैठक बोलाइएको हो ।
विवादित विषयलाई थाती राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको छ । गत २२ साउनमा बसेको समितिको बैठकमा निजी विद्यालयको पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुट्न सकेको थिएन । पूर्ण छात्रवृत्तिको विषयमा पनि भोलिको समितिको बैठकले निर्णय गर्ने छ ।
त्यसपछि सचिवालयले तयार पारेको प्रतिवेदन अध्ययनको लागि सदस्यहरूलाई वितरण गरिने समितिले जनाएको छ ।
आइतबार विवादित विषयमा छलफल गर्न समन्वय परामर्श उपसमितिको बैठक बसेको थियो । तर उक्त बैठकले पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुटाउन नसेकेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोसाक दिन नसकिने भनिरहेको छ । तर समितिका सदस्यहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोसाक पनि हुनुपर्ने धारणा राखिरहेका छन् ।







