नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा नेवार समुदायले रोपाइँ जात्रा निकालेका छन् । संस्कृति संरक्षणसँगै पुस्तान्तरणका लागि रोपाइँ जात्रा निकालिएको नेवा: पुच: गैँडाकोटले जनाएको छ ।
जात्राको उद्घाटन गर्दै गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नेवार समुदाय कला र संस्कृतिमा धनी रहेकाले संस्कृति संरक्षणमा समुदाय एकजुट हुनु प्रशंसनीय काम भएको बताए।
नगरभित्रका समुदायले मनाउने कला र संस्कृति यहाँको महत्त्वपूर्ण सम्पत्ति भएका भन्दै उनले ती सम्पत्ति संरक्षणका लागि नगरले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए। हरेक व्यक्ति र समुदायलाई आफ्नो संस्कृति प्यारो हुने भन्दै पुस्तान्तरण गर्दै संस्कृति संरक्षणमा लाग्नुपर्नेमा नगरप्रमुख अधिकारीले जोड दिए ।
रोपाइँ जात्राको आयोजक नेवा: पुच: गैँडाकोटका अध्यक्ष रेशमकुमार श्रेष्ठले श्रीकृष्ण जन्माष्टमीका दिन मनाइने यस पर्वले परिवर्तित समयसँगै जात्रा मनाउने क्रम र शैलीमा परिवर्तन ल्याएको बताए। उनले पछिल्लो पुस्तामा कला र संस्कृतिबारेको चासो कम हुँदै गएकाले पनि जात्रा मनाउने प्रचलनमा परिवर्तन ल्याउँदै पुस्तान्तरणमा जोड दिइएको धारणा राखे ।
“पहिले पहिले रोपाइँ जात्रा निकाल्ने तथा जात्राको खर्च व्यवस्थापन गर्ने व्यक्तिलाई पुत्र लाभ हुने किंवदन्ती थियो”, उनले भने, “सन्तान नभएका व्यक्तिले रोपाइँ जात्रा निकालेपछि सन्तान प्राप्ति भएको हामी आफैँले पनि देखेका छौँ ।”
जात्रासँग सम्बन्धित घटनाकाबारेमा अहिलेका पुस्ताले विश्वास नगर्ने भन्दै उनले कला र संस्कृति जोगाउनु अहिलेको अपरिहार्य आवश्यकता भएको उल्लेख गरे। उनका अनुसार हरेक वर्ष रोपाइँ सकिएको खुसीयालीमा रोपाइँ गर्दा गरिनै सबै कार्यसहित हास्यव्यङ्ग्य गर्दै रोपाइँ जात्रा मनाउने गरिन्छ ।
“रोपाइँ जात्राका क्रममा पञ्चेबाजाको धुनमा नाचगान हुन्छ”, श्रेष्ठले भने, “मानिस नै गोरु बन्छन्, हली, बाउसे, खेताला तथा रोपाहार भएर जात्रा निकालिन्छ । हरेक वर्ष वर्षे खेती लगाउने काम सकिएको खुसीयालीमा रोपाइँका क्रममा अपनाइने सबै कार्यसहित हास्यव्यङ्ग्य गर्दै यो जात्रा मनाउने गरिन्छ ।”
आज निकालिएको जात्रामा नेवार समुदायसँगै थारु समुदाय पनि आफ्नो मौलिक पोसाकमा सजिएर जात्रामा सहभागी भएका थिए । दिउँसो निकालिएको जात्राले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।







