मोरङ । जिल्लाको परमार्थ सिंघिया आरती सेवा समितिलाई विसं २०८२ को पोखरमल राठी धर्म संस्कृति पुरस्कार प्रदान गरिएको छ ।
आज आयोजित एक कार्यक्रमबीच आरतीको माध्यमबाट युवा, महिलालगायत समाजका विविध क्षेत्रलाई समेट्दै हिन्दु धर्मको जागरणमा योगदान पुर्याएको भन्दै समितिलाई रु. एक लाख एक हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, पुरस्कार संस्थापक परिवारका संयोजक चम्पालाल राठी, राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीले समितिका मुख्य संरक्षक शंकर खरेल, अध्यक्ष चन्द्रबहादुर वन र महासचिव राजन न्यौपानेलाई संयुक्त रूपमा पुरस्कार प्रदान गरेका गरेका थिए ।
समितिले गत वर्ष साउन २५ गते नाग पञ्चमीका दिनदेखि विराटनगर–१ स्थित सिंघिया नदीछेउको परोपकार घाट क्षेत्रमा हरेक शुक्रबार आरती गर्दै आएको छ । पितृ मोक्षका लागि हुने आरतीमा श्रद्धालुको उल्लेख्य सहभागिता रहने गरेको छ । आरती दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा यही साउन १३ गते समितिले परोपकार घाट क्षेत्रमा कैलाशपति महादेवको १२ फिट अग्लो मूर्तिको शिलान्यास गरेको थियो ।
पुरस्कार ग्रहणपश्चात् मुख्य संरक्षक खरेलले प्राप्त नगद पुरस्कार परोपकार धाम क्षेत्रमा बन्ने कैलाशपति महादेवको विशाल प्रतिमा निर्माणका लागि खर्च गरिने घोषणा गरे । उनले उक्त क्षेत्रमा पहिलो पटक कैलाशपति महादेवको प्रतिमा निर्माण हुन लागेको र यसले धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
धार्मिक व्यक्तित्व एवं समाजसेवी स्व पोखरमल राठीका छोराहरू चम्पालाल राठी, सोहनलाल राठी, हंसराज राठी, हरिवंश राठी र ओमप्रकाश राठीले २०६४ सालमा संयुक्त रूपमा पुरस्कार स्थापना गरेका थिए ।







