काठमाडौँ । एमालेका सांसद सूर्य थापाले सरकारी कोष कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएको बताएका छन् । कानुन निर्माणको सरकारी शैली पनि सही नभएको सांसद थापाको भनाइ थियो ।
अर्थ समितिको सोमबारको बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथिको छलफलमा सांसद थापाले देखाउनका लागि बनाइएका कोषहरूको अर्थ नरहेको बताए । उनले वैकल्पिक विकास वित्त कोष पनि त्यसैको नमुना हुन सक्ने जोखिम रहेको आशंका व्यक्त गरे ।
सांसद थापाले भने, ‘सरकारी कोषहरू कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएका छन् । वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कोषको पुँजी संरचना के आधारमा बनाइयो, यसको आधार चाहियो । वैकल्पिक वित्त कोष भनेर नाम दिने तर अहिलेको पुँजी संरचनाले वैकल्पिक भन्ने देखाउन्न ।’
विद्यमान विकासका बजेटरी स्रोतले पुगेन भने वैकल्पिक स्रोतको खोजी गर्दा बढीमा कतिसम्मको स्रोत चाहिने भन्ने यकिन गर्नुपर्ने सांसद थापाको भनाइ थियो ।
सांसद थापाले सरकारी अधिकारीहरू कानुन निर्माण गर्ने क्रममा हल्का ढंगले प्रस्तुत भएको पनि बताए । ‘कानुन बनाउँदा हामीले यति हल्का ढंगले विषयवस्तुलाई राख्न हुन्न, ‘उनले भने ।







