काठमाडौँ । लमजुङ मर्स्याङ्दी गाउँपालिका-६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको आज पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहराका अनुसार आज दिउँसो अचानक आएको पहिरोले बेँसीसहर नगरपालिका-८ मा अस्थायी रूपमा बस्ने ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको हो ।
दोर्दी गाउँपालिका-५ का २१ वर्षीय विराज गुरुङ, मध्य नेपाल नगरपालिका-७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्युठान जिल्ला झिम्रुक गाउँपालिका-६ का २५ वर्षीय विकास विष्ट घाइते भएका उहाँले जानकारी दिनुभयो । घाइतेहरूको बेँसीसहर नगरपालिका-८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।
आयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा पहिरो आएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले भाग्ने क्रममा सो पहिरोमा परी एकको मृत्यु र तीन जना घाइते भएका बताए । उनका अनुसार सो क्याम्पमा करिब ४० जना कामदार बस्दै आएकामा पहिरो आएपछि भाग्ने क्रममा चार जना पहिरोमा परेका हुन् ।
अन्य ३६ जना भने सकुसल रहेको प्रहरीले जनाएको छ । यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।







