इलाम । इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको केचना-कञ्चनजंगा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माण पश्चात् मेची राजमार्गको विकल्प खुलेको छ ।
इलाम नगरपालिका-९ र ११ जोड्ने पुवा खोलमा पहिलो पटक बेलिब्रिज निर्माण भएपछि स्थानीय बासिन्दा र झापा–इलाम-पाँचथर-ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधनका लागि छोटो र सुरक्षित बाटोको विकल्प खुला भएको हो । सागर/शुभारम्भ/एरिसा जेभीले सो बेलिब्रिज निर्माण गरेको हो ।
पुल नहुँदा विगतमा यात्रीहरूले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो । विशेष गरी वर्षायाममा सडक पूर्णरुपमा बन्द हुने गर्दथ्यो । संघीय सरकारको रु. एक करोड ३५ लाखमा बेलिब्रिज निर्माण गरिएको हो । बेलिब्रिज ४८.६ मिटर लम्बाइको भएको सडक डिभिजन इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले बताए ।
इलाम नगरपालिका-९ का वडाध्यक्ष गोपाल चहानले बेलिब्रिज निर्माणसँगै झापा–इलाम सवारी आवागमनमा हसजता आएको बताए । “पहिले हिउँदमा त सडक प्रयोगमा आउँथ्यो, तर वर्षायाममा पूरै बन्द हुने गर्दथ्यो”,, उनले भने, “बेलिब्रिज निर्माणले बाह्रै महिना सवारी आवागमनमा सहज हुने भएको छ ।”
गत वर्ष पहिरोका कारण दुई साता राजमार्ग बन्द हुँदा यात्रीहरूले ठूलो सास्ती खेपेका थिए । त्यति बेला वैकल्पिक सडक नहुँदा ताप्लेजुङ, पाँचथर र इलामबाट झापा झरेका यात्रुहरू माई खोला वरिबाट पारीसम्म पैदल र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आएका यात्री पारीबाट वरिसम्म पैदल हिँडेर गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्न बाध्य भएका थिए ।
हाल पुवा खोलामा बेलिब्रिज निर्माण भएसँगै मेची राजमार्गको गोलाखर्क खण्डबाट सिँधै केचना-कञ्चनजंगा सडक प्रयोग गर्दा ४७ किलोमिटरको दुरीमा झापाको बिर्तामोड पुग्न सकिन्छ । मेची राजमार्ग प्रयोग गर्दा ८३ किलोमिटर दुरीमा मात्र बिर्तामोड पुग्न सकिन्छ ।
मेची राजमार्गको वैकल्पिक सडकको रूपमा लिइएको सो सडकअन्तर्गत इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको सडक डिभिजन प्रमुख इञ्जिनियर पवन भट्टराईले बताए ।







