काठमाडौँ । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका-७ बनखुको गर्भवतीको शुक्रबार हेली एम्बुलेन्सबाट उद्धार गरिएको छ ।
बुधबार दिउँसो २ बजेदेखि सुत्केरी ब्यथा लागेर अवस्था गम्भीर भएकी वर्ष २८ को देव कुमारी पाख्रिनको हेली एम्बुलेन्सबाट उद्धार गरिएको हो ।
बनखु स्वास्थ्य चौकीमा भर्ना भएपनि उच्च रक्तचापको कारण सुत्केरी गराउन नसकेकोले हेलिकप्टरबाट उद्धार गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।
हेलिकप्टर उडानका लागि स्वास्थ्य संस्थाका इन्चार्ज सपना वाईवाले गाउँपालिका अध्यक्षलाई तथा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसँग अनुमति माग गरेअनुसार प्रशासन कार्यालयले गृह मन्त्रालयसँग अनुमति लिई हेलिकप्टर प्रयोग गरिएको अध्यक्ष जिम्बाले बताए ।
राष्ट्रपति महिला उद्धार कार्यक्रम मार्फत निःशुल्क हेली एम्बुलेन्स प्रयोग गरिएको पालिकाले जनाएको छ ।







