काठमाडौँ। १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैँची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैँची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् ।
नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७ असारमा भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैँची निकालिएको हो ।
शल्यक्रिया पछि बालक घर फर्किएको उनले बताए ।
घरमा टिभी हेर्ने क्रममा बालकले खेलाइरहेको कैँची अड्किएपछि आफन्तले स्थानीय अस्पताल हुँदै नोबेल पुर्याएका थिए । गम्भीर अवस्थामा भर्ना भएका उनको ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र डा. दिनेश अधिकारीको टिमले शल्यक्रिया गरी कैँची निकालेको थियो ।
अस्पतालका अनुसार, खेल्ने क्रममा घाटीमा अड्किएको कैँची घरमा निकाल्न खोज्दा सानो आन्द्रासम्म पुगेको थियो ।
ढल्किएर टिभी हेर्दै मुखमा कैँची खेलाइरहेको अवस्थामा अचानक घाँटी भित्र छिरेको थियो । बालकले कैँची अड्कियो भन्दै कराएपछि हजुरबुबाले निकाल्न खोज्दा कैँची अझै भित्र पसेको थियो ।
स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आफन्तले नोबेल लगेका थिए । नोबेल आइपुग्दा भने पेटमा कैँची पुगिसकेको थियो । गम्भीर अवस्थामा आएका बालकको तत्कालै शल्यक्रिया गरी कैँची निकालेको अस्पतालले जनाएको छ ।







