काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसदहरूले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा सरकारको जवाफ माग गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा धारणा राख्दै माओवादी सांसदहरूले सामान्य प्रशासन मन्त्रीको घुससम्बन्धी अडियो प्रकरणमा सरकारको जवाफ माग गरेका हुन्।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था मन्त्रीको घुस डीलसम्बन्धी समाचारहरू सार्वजनिक भएको भन्दै यसबारे प्रधानमन्त्रीले सदनमा जानकारी दिन माग गरे। सुशासनका विषयमा सरकारले बलियो कलम चाल्नसमेत उनले माग गरे।
त्यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था मन्त्रीले कर्मचारी सरुवामा ७८ लाखको डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेको भन्दै प्रधानमन्त्रीले सदनमा जानकारी गराउन माग गरिन्।
उनले यस प्रकरण छानबिन गरी दोषी भेटिए कारबाही हुनुपर्ने उल्लेख गरिन्। त्यस्तै माओवादी केन्द्रका अर्का सांसद सुदन किरातीले सुशासनका लागि भनेर बनेको सरकारको छातीमा कुशासनको तक्मा थपिएको जिकिर गरे। सामान्य प्रशासन मन्त्री र भूमि सुधार मन्त्रीको बारेमा सञ्चारमाध्यममा आएका विषयमा सरकारको तर्फबाट संसद्लाई सत्य तथ्य जानकारी गराउनुपर्ने उनले माग गरे।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि प्रतिपक्षीले सरकारको जवाफ माग गरेको हो। यस विषयमा सत्तापक्ष दलबाट भने कुनै प्रतिक्रिया आएको छैन।







