लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अहिले गहिरो ध्रुवीकरण र नेतृत्वको संकटबाट गुज्रिरहेको बेला एनआरएनए यूकेको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् अभियन्ता राजेन्द्र पुडासैनीले।
उनले वर्तमान अवस्थामा नेतृत्वको होडबाजी र आन्तरिक द्वन्द्वले संस्थाको छवि धुमिल पारेको भन्दै त्यसलाई सुधार गर्न आफू अघि सरेको बताएका छन्। ‘एनआरएनए एउटा अभियान हो। यसलाई व्यक्तिगत स्वार्थको बन्दी बनाउन हुँदैन। सबैको प्रतिनिधित्व हुने, एकताबद्ध र उदाहरणीय संस्था बनाउन मेरो प्रतिबद्धता छ,’ उनले भने।
नेतृत्वको संकट र विभाजनको अवस्था
एनआरएनए स्थापनामा बेलायतको भूमिका अग्रणी मानिँदै आएको भए पनि अहिले यही देशमा चरम विभाजन देखिएको पुडासैनीको टिप्पणी छ। समुदायमा एकता र सहिष्णुताको अभाव रहेको उल्लेख गर्दै उनले अग्रज र साथीहरूको सुझावअनुसार उम्मेदवारी दिने निर्णयमा पुगेको बताए।
उनको भनाइमा नेतृत्वले जनसंगठनको रूपमा काम गर्न नसक्दा र आम समुदायसँग प्रत्यक्ष सम्पर्क नजोडिँदा संस्थाप्रति आकर्षण घटेको छ। त्यसैले अबको आवश्यकता संस्थाको जग बलियो बनाउँदै ‘ग्रासरुट’ स्तरका नेपालीहरूसँग जोडिनेमा छ, उनले स्पष्ट पारे।
एनआरएनएलाई जनसंगठन बनाउने लक्ष्य
पुडासैनीले अध्यक्षमा निर्वाचित भएमा आफूले सबैभन्दा पहिले संस्थालाई एकताबद्ध र सशक्त बनाउने बताए। नेपाली नागरिकताको निरन्तरताका लागि पहल गर्ने, नेपालमा रहेका गैरआवासीय नेपालीहरूको सम्पत्तिको सुरक्षाका लागि अभियान चलाउने र भूतपूर्व गोर्खाहरूको समानताको पक्षमा ऐक्यवद्धता जनाउने योजना रहेको उनको भनाइ छ।
यस्तै, नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्ने, नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने, बेलायतमा रहेका नेपाली विद्यार्थी र श्रमिकहरूको अधिकार तथा सुरक्षाका लागि नीतिगत तथा व्यवहारिक पहल गर्ने योजना उनले सुनाए।
‘मेरा वाचा कुनै ठूलाठूला गफ होइनन्,’ उनले भने, ‘स्थानीय नेपाली नेटवर्क बलियो बनाउने, बेलायत–नेपाल सम्बन्ध थप मजबुत बनाउने र ज्ञान–सीप बाँड्ने काममा विशेष भूमिका खेल्नेछु।’
विभाजनको चुनौती र मिलनको सम्भावना
एनआरएनए यूकेको पछिल्लो विभाजनले चुनौतीसँगै सम्भावना पनि बोकेको भन्दै उनले अर्को पक्ष ९प्रेम गाहा मगर समूह० सँग मिल्न आफू तयार रहेको जनाए। ‘केही साथीहरूको व्यक्तिगत ईगो र महत्त्वाकांक्षाले संस्था विभाजित भयो। तर मसँग साझा एजेन्डासहितको स्पष्ट मार्गचित्र छ। नेपाली कम्युनिटीलाई उदाहरणीय बनाउन महाअभियान चलाउनुपर्छ,’ उनले जोड दिए।
उनका अनुसार एनआरएनए यूकेलाई नमूना संस्था बनाउने स्पष्ट ‘रोडम्याप’ आफूसँग तयार छ। ‘एनआरएनए अभियानमा एकताबद्ध भएर लागे सबै मुद्दा समाधान गर्न सकिन्छ,’ उनले विश्वास व्यक्त गरे।
संघको मतदान आगामी २६ जुलाई २०२५ मा अनलाइनमार्फत हुने तय भएको छ। राष्ट्रिय महाधिवेशन भने २७ जुलाई मा हुनेछ।
को हुन् राजेन्द्र पुडासैनी ?
नुवाकोटको साविक जिलिङ गाउँपालिका–२ (हाल बेलकोटगढी नगरपालिका–८) मा जन्मिएका पुडासैनी स्वर्गीय उपेन्द्र पुडासैनी र लोकमाया पुडासैनीका सुपुत्र हुन्। करिब २५ वर्षअघि बेलायत आएका उनी प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए र बीएससी अनर्स गरेका छन्। पछिल्ला १५ वर्षदेखि बेलायतको स्वास्थ्य सेवा विभागमा कार्यरत उनी विद्यार्थी जीवनदेखि नै सामाजिक रूपान्तरणका लागि क्रियाशील छन्।
नेपालमा रहँदा सरस्वती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति भएका उनी बेलायत आएपछि पनि ट्रेड युनियन आन्दोलनमा सक्रिय छन्। अहिले उनी बेलायतको सबैभन्दा ठूलो युनियनमध्ये एक, जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थ का सचिवका रूपमा श्रमिकहरूको हकहितमा काम गरिरहेका छन्।
सन् २०१४ मा लन्डन बरो अफ ह्यारोको ‘ह्यारो अन द हिल’ बाट काउन्सिलरमा उम्मेदवारी दिएका उनले राजनीति र समाजसेवामा शुद्धीकरणको पक्षधर हुने बताएका छन्।
हाल इसेक्सस्थित हार्लो शहरमा बसोबास गर्दै आएका पुडासैनी यती नेपाली एसोसिएसन यूकेका दुईपटक महासचिव, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष र एनआरएनए अन्तर्राष्ट्रिय समितिका सदस्य (२०२१–२३) समेत भइसकेका छन्। नेपालमा महाभूकम्प, बाढी–पहिरो जस्ता विपद्का बेला बेलायती स्वास्थ्यकर्मीहरूको नेतृत्व गर्दै उल्लेखनीय सहयोग पुर्याएको पनि उनले बताए।







