काठमाडौँ । सभामुख देवराज घिमिरेले सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका लागि अफ्रिकी मुलुक रुवाण्डा विश्वमै एक उदाहरणीय राष्ट्र बन्न सफल भएको बताएका छन् ।
भूपरिवेष्टित एवं अल्पविकसित मुलुक रुवाण्डाको ३१औँ मुक्ति दिवसको उपलक्ष्यमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख घिमिरेले केही वर्षअघि मात्र कूटनीतिक सम्बन्ध कायम भएको रुवाण्डासँग पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषि, व्यापारलगायतका क्षेत्रमा सहकार्य गरी लाभान्वित हुनसक्ने सम्भावना रहेको बताए ।
द्वन्द्वका कारण अपूरणीय धनजनको क्षति व्यहोरेका दुवै देशले राष्ट्रसंघीय शान्ति स्थापना अभियानमा उल्लेखनीय योगदान गरेको उल्लेख गर्दै उनले अल्पविकसित राष्ट्रका हैसियतले आपसी सहयोग र सहकार्यको नीतिलाई प्राथमिकता दिई दुवै देशका जनताको जीवनस्तर सुधारका पक्षमा यथाशक्य बढी सहकार्य हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।
रुवाण्डाको अवैतनिक परिषद्का ‘डिन’ को भूमिकामा रहेका उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालका अनुसार सन् २०१५ मा प्रतिव्यक्ति आय करिब २०० अमेरिकी डलर मात्र भएको रुवाण्डामा कुल ग्राह्स्थ उत्पादन १० प्रतिशतसम्म वृद्धि भइ अहिले प्रतिव्यक्ति आय ८०० अमेरिकी डलर पुगेको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले सन् १९९४ मा हत्याहिंसा र द्वन्द्वको चपेटाबाट मुक्त भएको रुवाण्डाले आन्तरिक तथा वाह्यदेशको समेत लगानी आकर्षित गरी शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमा अतुलनीय प्रगति गरेको बताए ।
सो कार्यक्रमको आयोजक समेत रहेका नेपालका लागि रुवाण्डाका अवैतनिक दूत प्रज्वलजङ्ग पाण्डेले नेपाल र रुवाण्डाबीचको व्यापारव्यवसाय प्रवर्द्धन, दिगो शान्ति र समृद्धि तथा कूटनीतिक सम्बन्ध विस्तारका पक्षमा आफूले सक्दो प्रयास गरिरहेको बताए । उनले लगानीका हिसाबले सहकार्यका क्षेत्रहरूको पहिचान गरी दुवै देशका जनतालाई लाभान्वित तुल्याउन आवश्यक सहकार्य गरौँ भने ।
विश्वमै कफी उत्पादन तथा निर्यातमा महत्त्वपूर्ण योगदान रहेको रुवाण्डाले दिगो शान्ति, द्वन्द्वरत पक्षबीचको मेलमिलाप, पुन:निर्माणसहित विश्वशान्तिका पक्षमा मौलिक तथा उदाहरणीय काम गरेको सो अवसरमा बताइयो ।







