काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जडीबुटीबाटै कर्णालीलाई समृद्ध बनाउन सकिने बताएका छन् ।
कर्णाली डिस्कोर्स सोसाइटी र मार्टिन चौतारीको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उनले कर्णालीलाई जडीबुटीबाट आत्मनिर्भर बनाउने बारेमा सरकार गम्भीर रहेको बताए।
जडीबुटी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन गरिएको उनको भनाइ थियो । कर्णालीमा उत्पादन हुने जडीबुटीलाई व्यवस्थापन गर्न आवश्यक देखिएको उल्लेख गर्दै मन्त्री शाहीले यार्सागुम्बा प्रमुख आयस्रोत भएकाले त्यसको संकलनमा नीतिगत रूपमा व्यवस्था गरिएको बताए ।
जडीबुटीलगायत जैविक विविधताको संरक्षणका लागि बाह्य मिचाहा प्रजाति नियन्त्रणसम्बन्धी मापदण्ड लागू गरिएको मन्त्री शाहीले जानकारी दिए । अव्यवस्थित चरिचरन र जथाभाबी जडीबुटी कोर्ने प्रचलनले गर्दा जडीबुटी लोप हुनसक्ने चिन्ता बढेको बताउँदै उहाँले जलजंगल, जलस्रोत, जडीबुटीले भरिपूर्ण कर्णालीलाई आधारभूत आवश्यकता पुगिसकेको अवस्थामा दुर्गम गरिबी र पछाडि पारिएको भन्ने अब नसुहाउने तर्क गरे ।
कार्यक्रममा विश्लेषक हरिहर न्यौपानेले विगतको तुलनामा अहिले वन मन्त्रालयले नीतिगत रूपमा सुधार गरी कामकाजमा सहज बनाएको बताए । उनले वन मन्त्रालयले जडीबुटी क्षेत्रलाई प्राथमिकता राखेर यो पटक बजेट विनियोजन गरेको भन्दै खुसी व्यक्त गरे ।
लेखक माधव चौलागाईले कर्णालीको खर्क क्षेत्रलाई व्यवस्थापन गरी जडीबुटी संरक्षणमा वन मन्त्रालयले विशेष ध्यान दिनुपर्ने सुझाव दिए । वातावरण अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठले कर्णालीमा उत्पादन हुने जडीबुटीको विवरणका साथै वार्षिक बिक्रीदर समस्या र चुनौतीको बारेमा जानकारी गराएका थिए।







