काठमाडौँ । रसुवाको बाढीमा बेपत्ता भएका एक जना प्रहरीको शव चितवनमा भेटिएको छ । भरतपुर महानगरपालिका-२९ पन्ध्र किलोस्थित त्रिशूली नदी किनारमा शव भेटिएको हो ।
बाढीमा बेपत्ता तीन प्रहरीमध्ये रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ घर भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव आज साँझ ६:२० बजे त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
उनको शवको एउटा खुट्टामा प्रहरीको बुट भेटिएको थियो । श्रेष्ठको पहिचान उनकी श्रीमतीले गरेको पुरीले बताए ।
प्रहरी चौकी हाकु रसुवामा दरबन्दी रहेका उनी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए ।







