काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले फोहोर चलाएर आफू फोहोरी नबन्ने बताएका छन्।
बुधबार केन्द्रीय समिति बैठकमा थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित आरोपलाई खण्डन गर्दै फोहोरी बन्न नचाहेको बताएका हुन्। ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ, ’थापाले भने।
मोहन बस्नेतले केन्द्रीय बैठकमा गगन थापालाई लक्षित गर्दै आरोप लगाएपछि थापाले ती आरोपलाई ‘राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने’ भन्दै जवाफ फर्काएका हुन्। टेरामक्स प्रकरणमा मुछिएका बस्नेत धरौटीमा छुटेका थिए।
‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ। आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु-फोहोर चलाए आफैँ फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु, ’उनले भने।
थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै, आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरेका छन्।
उनले भने, ‘म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ। तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो।’
यसअघि सानेपामा बुधबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले महामन्त्री थापालाई लक्ष्य गर्दै धेरै महत्त्वकांक्षा बोकेर हिँड्नेहरू होस् गर्नु भनेका हुन्।
महामन्त्री थापाले सदनमा टेरामक्स लगायतका भ्रष्टाचार विषयमा बोलेर अख्तियार पठाउने गरेको आरोप बस्नेतको छ।







