काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रूपमा प्रधानाध्यापकलाई तथा बालमैत्री र हरेक समस्याको समाधान दिन नेतृत्वदायी शिक्षकको भूमिका खोजेको उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।
गएको ३ वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यसवर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरू ननग्रेडेड नतिजा भएका विद्यालयहरूका प्रधानाध्यापकहरूसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।
‘चुनौती छन् । यसकारण नेतृत्वको खोजी भएको हो’, उनले भनिन्, ‘साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ । यसपछिको एक महिना नटग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौँ । त्यसपछि सबै समस्या केलाएर, सिप र क्षमताको विश्लेषण गरेर थप कार्यक्रम तर्जुमा गरौँला ।’
छलफलमा शिक्षा अधिकृत केशव ज्ञवालीले, प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीहरूको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरू शिक्षासँगै श्रम क्षेत्रमा आबद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनुजस्ता कारण केही विद्यार्थीहरूको एसइईको नतिजा राम्रो नभएको उल्लेख गरिन् ।
छलफलमा विद्यालयका प्रधानाध्यापकहरूले नतिजा सुधारका लागि आउँदो १ महिला अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक प्रयास गर्ने प्रतिबद्धता जनाए । उनीहरूको दृष्टिमा केही विद्यार्थीहरूमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैका बराबरी भूमिका रहेको उल्लेख गरे ।
‘केही मेहनेत गर्ने विद्यार्थीको पनि नटग्रेडेड नतिजा आयो । कति विद्यार्थीले जाँच दिए तर गयल देखायो’, प्रधानाध्यापकहरूले थप कारण देखाउँदै भने, ‘घरमा दिनहुँ झगडा छ, बालबालिकाले पढाइमा ध्यान दिनै सक्दैनन् । अभिभावक जिम्मेवार नभएका कारण विद्यार्थी कसैलाई टेर्दैनन् । कतिपय बालबालिकाले श्रममा आबद्ध भएर अभिभावकको भूमिका वहन गर्नुपर्ने ठाउँमा छन् । उनीहरू चाहेर पनि पढाइमा ध्यान दिन सक्दैनन् । कतिपय विद्यार्थीहरू अभिभावकलाई टेर्दै टेर्दैनन् । अभिभावकलाई साथी जत्तिको पनि मान्दैनन् । अभिभावकलाई उनीहरूको शैक्षिक सुधारका लागि बोलाउँदा विद्यालयमा आउनु नै हुन्न । बिहान पढायो । त्यसपछि खाना खान घर पठाउँदा विद्यार्थी फर्केर विद्यालय नै आउँदैनन् । गयल हुन्छन् । विषयगत शिक्षकको अभाव भयो । दरबन्दी छ, शिक्षक छैनन् । विद्यालय वरिपरिको वातावरण राम्रो भएन यसकारण उनीहरूमा खराब बानीको लत छ । यस्ता धेरै कारणले केही विद्यार्थीहरूको एसइईको नतिजा बिग्रिएको हो ।’ उनीहरूले थप्दै भने, ‘महानगरपालिकाले नियमित अनुगमन गरिदिनुपर्छ । प्रधानाध्यापक र शिक्षकको नेतृत्व विकास र क्षमता विकास गरिदिनुपर्छ ।’
अभिभावकहरुको धारणाको प्रतिनिधिमूलक आवाज बोल्दै उनीहरूले भने, ‘उसको विषयमा मलाई भन्दा पनि नभन्नु । म स्कुल आउन पनि आउँदिन । मेरो नानीबाबुलाई ब्ल्याक बेल्ट चाहिएको छ । एसइई फेल भएर पनि फरक पर्दैन ।’
आफूहरूले सेलेक्टेड विद्यार्थी लिने नभएर विद्यालयको क्षमताले अटाउने सबै विद्यार्थी भर्ना लिने, यसकारण सामुदायिक विद्यालयमा अनेक खालका कार्यक्रम चाहिएको उनीहरूको भनाइ थियो ।
२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट ४ हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये ९५६ जना (नन ग्रेडेड)ले पुन परीक्षा दिनु पर्ने भएको छ ।
उत्तीर्ण विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३।६१ देखि ४ जिपिए प्राप्त गरेका छन् । यसमा १७ जनाले ४ जिपिए पाएका छन् । गएको वर्ष ५४५ जनाले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका थिए । गएको वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जिपिए प्राप्त गरेका हुन् ।







