काठमाडौँ । विशेष अदालत काठमाडौँले दृष्टि न्युज अनलाइन र यसका सम्बन्धित व्यक्तिहरूविरुद्ध अदालतको अवहेलना मुद्दामा समाह्वान जारी गरेको छ। मिति २०८२/३/८ मा दृष्टि न्युज अनलाइनमा प्रकाशित “विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाई” शीर्षकको समाचार सामग्रीलाई लिएर उक्त आदेश जारी भएको हो ।
अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेज नारायण सिंह राई, राम बहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको संयुक्त इजलासले उक्त समाचार सामग्रीमाथि प्रश्न उठाउँदै दृष्टि मिडिया प्रा.लि., समाचारका सम्पादक शम्भुलाल श्रेष्ठ, एम.पी. सुब्बा र सम्बन्धित संवाददातालाई अदालतमा उपस्थित भई बयान दिन आदेश दिएको छ।
निवेदन नं. ०८१–०–०५५७ मा परेको उजुरीमाथि सुनुवाइ गर्दै अदालतले विपक्षीहरूलाई अदालतको अवहेलनामा कारबाही र सजाय किन नहुनु पर्ने हो भन्ने आधार, कारण र प्रमाणसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। साथै, उक्त समाचार सामग्रीलाई यथास्थितिमा राख्न, हटाउन, परिवर्तन वा परिमार्जन नगर्न पनि आदेश जारी भएको छ।
प्रतिवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतम, कविता आचार्य, वसन्त जोशी, यज्ञ खतिवडा, आकृति अधिकारी र कुमारराज कार्कीले बहस गरेका थिए।









