काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटको सफल कार्यान्वयनका लागि सबैको साथ सहयोग र सहकार्यको अपेक्षा गरेको बताएका छन् ।
आज प्रतिनिधि सभाको विनियोजन विधेयकमाथि उठेका सवालहरूको जवाफ दिँदै मन्त्री सुडीले सबैको सहकार्यमा मात्रै बजेटको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने बर्ताएका हुन् ।
“महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, यौनिक लैंगीक अल्पसङ्ख्यक तथा अन्तरराष्ट्रियस्तरमा गरिएका प्रतिबद्धताको कार्यान्वयन मात्र यस मन्त्रालयको कार्यक्षेत्रमा पर्दछ”, उनले भने, “सरकारको वार्षिक विकास कार्यक्रमले सोह्रौँ आवधिक योजनाले लिएका लक्ष्यहरू, वार्षिक नीति तथा कार्यक्रम मन्त्रालयको कार्यक्षेत्रलाई आधार मानेर प्राप्त सीमित स्रोतबाट सबै क्षेत्रमा विवेकपूर्ण रूपमा बजेट विनियोजन गरिएको छ, यसको सफल कार्यान्वयनमा सबैको साथ सहयोग रहने अपेक्षा छ ।”
यस मन्त्रालयअन्तर्गत लैंगीक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण कार्यक्रम, सामाजिक विकास कार्यक्रम (अपांगता अधिकार प्रवर्द्धन र ज्येष्ठ नागरिक संरक्षण), बाल विकास कार्यक्रम, राष्ट्रिय महिला सशक्तीकरण परियोजना, एसियाली बैंकको सहयोगमा महिला समुत्थान कार्यक्रम र विश्व बैंकको सहयोगमा लैंगीक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना सञ्चालनमा रहेको छ ।
सांसदहरु प्रभु साह, हितराज पाण्डे, देवप्रसाद तिमल्सिना, अमनलाल मोदी, प्रेम सुवाल, अब्दुल खान, ज्ञानेन्द्रबहादुर कार्की, तारा लामा, प्रभु हजारा, मैना कार्की, बिजुला कार्की, रामहरि खतिवडा, सुशीला थिङ, तिमल्सिनालगायतले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री सुडीले मन्त्रालयको बजेटले सन्तुलित बजेट तथा कार्यक्रम प्रस्ताव गरेको बताए ।







