काठमाडौँ । बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा काजमा कार्यरत कर्मचारीलाई फिर्ता हुन पत्राचार गरेका छन्। नगर प्रमुख बस्नेतले पाँचौँ तहकी नायब सुब्बा अम्बिका दाहाल ओझालाई तत्काल काज फिर्ता हुन माग गर्दै बिहीबार अख्तियारलाई ७ दिने पत्र पठाएका हुन्।
सामान्यतया कर्मचारी सरुवा, बढुवा वा काज फिर्ताका लागि सम्बन्धित कार्यालयको कर्मचारी तहबाट पत्राचार हुने प्रचलन छ। तर, नगर प्रमुख बस्नेतले स्वयं हस्ताक्षर गरी सिधै पत्र पठाएर काज फिर्ताको निर्देशन दिएका छन्।
नगर प्रमुखले यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नगरपालिकाको आर्थिक प्रशासन शाखालाई जानकारी गराएका छन्। उनले नासु दाहाललाई निजामती सेवा ऐन, २०४९ को प्रावधानअनुसार एक वर्षमा तीन महिनाभन्दा बढी काजमा बस्न नपाउने कानुनी व्यवस्थाको पालना गर्न भन्दै तत्काल फिर्ता हुन आग्रह गरेका छन्।
निजामती सेवा ऐन, २०४९ को परिच्छेद ४ को दफा १८ (क) मा उल्लेखित व्यवस्थाअनुसार, निजामती कर्मचारीलाई आफू कार्यरत मन्त्रालय, सचिवालय, आयोग, विभाग वा कार्यालयको कामका लागि मात्र अन्य स्थानमा काजमा खटाउन सकिन्छ। यस्तो काज अवधि एक वर्षमा तीन महिनाभन्दा बढी हुन नहुने कानुनी प्रावधान छ। पत्रमा भनिएको छ, “उक्त व्यवस्थाअनुसार ७ दिनभित्र बाह्रविसे नगरपालिकामा काज फिर्ता हुन अनुरोध छ।”
पूर्वसञ्चारमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहन बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा बिहीबार मुद्दा दायर गरेको केही समयपछि नै बाह्रविसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले उक्त पत्र पठाएको खुलासा भएको छ। सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन बस्नेत मुद्दा दायर भएसँगै सांसद पदबाट निलम्बनमा परिसकेका छन्।
