काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पुर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहे पनि पक्राउ नगरिएकोमा आपत्ति जनाएका हुन्।
प्रदेश सांसद पन्थी सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा प्रमुख अतिथिको आसनमा सहभागी भएका थिए। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी थिए।
राजनीतिक पहुँचकै कारण सार्वजनिक कार्यक्रममा सहभागी हुँदा समेत प्रहरीले पक्राउ नगरेको भन्दै सांसद बरालीले, ‘सुशासनको कुन यो कस्तो नमुना हो ?’ भन्ने प्रश्न गरेका छन्।
उनले भने, ‘जो सुशासनको ठेक्का लिएको सरकार छ, जो पक्राउ पुर्जी जारी भएका आफ्नै पार्टीका सांसद छन्, प्रहरी प्रशासन जाँदाखेरि भेट नभएको भन्ने रिपोर्ट आउँछ। प्रधानमन्त्रीसँग कुम जोडेर मञ्चमा बसिरहन्छन्। सुशासनको कुन चाहिँ नमुना हो यो ?’
सांसद बरालीले गभर्नर नियुक्तिको सन्दर्भमा पनि सरकारले ढिलाइ गरेको उल्लेख गर्दै आम नागरिकले हेरेर बसेको बताए।
उनले भने, ‘गभर्नर नियुक्तिको सवालमा संसारले देख्ने गरी, इतिहासलाई नै ब्रेक गर्ने गरी रिक्त रहेको अहिलेको अवस्था छ। यो विषयमा के हुनुपर्ने हो, के भइरहेको छ, दुनियाँको अगाडि छर्लंग छ।’