काठमाडौँ । विपक्षी दलहरूले धितोपत्र बोर्डले आईपीओको अनुमतिमा कमिसन मागेको भन्ने विषय आएप्रति सरकारको ध्यानाकर्षण गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका छन् । सभामुखले समय दिएपछि उनीहरूले ८९ वटा कम्पनीका आईपीओको अनुमति रोकिएको विषयमा सरकारसँग जवाफ मागेका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले धितोपत्र बोर्डले कमिसनको बार्गेनिङ गरेको भन्ने आउनु खेदजनक रहेको बताए । ‘खुला खुला यसका बारेमा धितोपत्र बोर्डले कमिसनको बार्गेनिङ गरेको भन्ने आएको छ । म पार्टीको तर्फबाट ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु’, उनले भने ।
यो विषयमा छानबिन हुनुपर्ने उनको माग छ । ‘धितोपत्र बोर्डमा कमिसनको खेलमा कारण ८९ वटा कम्पनीका आईपीओको अनुमति रोकिएको भन्ने आएको छ । यो विषयमाथि भरपर्दो संयन्त्रमार्फत छानबिन गर्न पर्यो’, उनले भने ।
यो विषयमा सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने उनको माग छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले पनि धितोपत्र बोर्डले नै कमिसन मागेको जस्तो आरोप लागेपछि सरकारले ख्याल गर्नुपर्ने बताइन् ।
यस्तो कार्यमा संलग्नमाथि छानबिन भएर कारबाही हुनुपर्ने उनको माग छ ।