काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गराउन सर्वोच्च अदालतबाट अनधिकृत पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
शुक्रबार जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ ।
विष्टले आफूले अनधिकृत पत्र लेखेको कुरा प्रहरीसँग स्वीकार गरेका छन्। यद्यपि उनीमाथि अनुसन्धान गरी प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराइ बयान लिनेछ।
उनले चौधरीलाई पक्राउ गर्ने पत्र लेखेपछि सर्वोच्च अदालतले नै उनको पत्र अनधिकृत रहेको भन्दै प्रहरीलाई र डिल्लीबजार कारागार कार्यालयलाई पत्राचार गरेको थियो।
सर्वोच्चले विष्टमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ८४, ८७ र २७६ अनुसार अनुसन्धान र कारबाहीको माग गरेको छ।







