काठमाडौँ। हेटौँडा उपमहानगरपालिका-११ थाना भन्ज्याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
शुक्रबार राति हेटौँडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना४ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना१ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मकवानपुरको मनहरी गाउँपालिका-६ खयरघारी घर भएकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
अटोमा सवार मनहरी-६ खयरघारीकी मृतक पूजा बम्जनको छोरा ११ वर्षीय अमृत घिसिङको अनुहारमा चोट रहेको छ । चुरेहिल अस्पतालमा उपचार भइरहेको उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक हेटौँडा उपमहानगरपालिका-१९ बासघारी बस्ने २५ वर्षीय राजु थिङको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।
अटोलाई ठक्कर दिने ट्रक चालक चितवनको राप्ती नगरपालिका-२ पिप्ले बस्ने ४८ वर्षीय कान्छा राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।