काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहँदासम्म बाम एकता नहुने बताएका छन् ।
‘केपीजी रहँदासम्म नेपालमा कम्युनिस्ट एकता, वामपन्थी एकता हुने स्थिति छैन’, जनकपुरमा पत्रकारसँग कुरा गर्दै ‘प्रचण्ड’ले भने ।
‘प्रचण्ड’ले तत्काल आफूहरूको सरकार बनाउनेतर्फ ध्यान नभएकाले काँग्रेससँग पनि सहकार्य नहुने बताए । उनले आफूहरू अहिले पार्टी सुदृढीकरणमै ध्यान दिइरहेकोले जनतातर्फ नै फर्किएको बताए ।
‘अहिले सरकारमा हाम्रो ध्यान छैन । हामी जनतामा जाने, जागरण ल्याउने, नयाँ किसिमले पार्टी विस्तार गर्ने, सुदृढीकरण गर्ने अभियानमा छौँ । यो अभियान हाम्रो लागि जरुरी भएको छ’, ‘प्रचण्ड’ले भने, ‘देशको लागि जरुरी भएको छ । हाम्रो उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको निम्ति अझ मधेशी जनताका निम्ति अझ बढी आवश्यकता भएको छ ।’
‘प्रचण्ड’ले अगाडि भने, ‘हामी पनि कहिले एमाले, कहिले काँग्रेससँग मिल्दा उनीहरूको अलिअलि उनीहरूको कल्चर सर्याजस्तो भाछ । हामी अलिकति नुहाइधुवाइ गरेर जनतासँग फेरि जानुपर्यो भन्ने छ । हामीलाई सरकारमा अहिले ध्यान छैन ।’