काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्न बाटो खुलेको छ ।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पेस गरेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्वस्वीकृति दिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । यही माघ १५ गतेको मन्त्रिपरिषद् बैठकले ओएनएम सर्वेक्षणका लागि स्वीकृति दिएको प्रवक्ता डा. बुढाथोकीले बताए ।
मन्त्री पौडेलले स्वास्थ्य सेवा विस्तार तथा प्रभावकारी बनाउन आवश्यक जनशक्ति थप गर्ने घोषणा गरेका थिए । उनले मन्त्रालय सम्हाले लगत्तै जनशक्ति थप गर्ने गृहकार्य थालेका थिए ।
गत पुष ११ गते मन्त्रालय र मातहतका निकायको संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्न गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको बैठकले पूर्व स्वीकृतिका लागि प्रक्रिया अघि बढाउन मन्त्रालयलाई अनुरोध गरेको थियो । अब मन्त्रिपरिषदबाट पूर्वस्वीकृति प्राप्त भएपछि मन्त्रालयले सर्वेक्षणको काम अघि बढाउने मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।
संघीयता कार्यान्वयनमा आएपछि २०७५ सालयता मन्त्रालयले यस्तो सर्वेक्षण गरेको थिएन । यसबीचमा जनसङ्ख्या चाप, सेवाको माग बढे पनि ओएनएम सर्वेक्षण नहुँदा कार्यसम्पादनमा कठिनाइ भइरहेको मन्त्रालयका अधिकारीहरूको गुनासो थियो ।







