चार शताब्दीको इतिहास बोकेको सिंहदरबार वैद्यखाना अस्तित्व संकटमा छ । कुनै समय १०० भन्दा बढी औषधि उत्पादन गर्ने यो संस्था अहिले च्यावनप्रासमा सीमित भएको छ। राज्यको उपेक्षाले यो ऐतिहासिक धरोहर धराशायी बन्दै गएको छ ।
काठमाडौँ । दुरीको हिसाबले प्रमुख प्रशासकीय केन्द्र सिंहदरवारबाट सबैभन्दा नजिक रहेको सरकारी संस्था हो सिंहदरवार वैद्यखाना । चार शताब्दीको इतिहास बोकेको देशकै सबभन्दा पुरानो औषधि उत्पादन गर्ने यो सरकारी आयुर्वेद औषधि उद्योग बन्द हुने सँघारमा पुगेको छ । सिंहदरवार र रामशाहपथ(स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय)बाट सबैभन्दा नजिक रहेको वैद्यखानालाई टाढाको नजरबाट हेर्न थालिएपछि यसको अस्तित्व संकटमा परेको छ ।
देशमा उत्पादित आयुर्वेद औषधिको ८० प्रतिशत हिस्सा ओगट्ने वैद्यखाना अहिले आफैँ बिरामी छ । यस सरकारी आयुर्वेद औषधि उद्योगको मूल गेटमा ताल्चा झुन्डिएको छ । कुनै बेला १०० भन्दा बढी आयुर्वेदिक औषधि बनाउने वैद्यखानामा केही समयदेखि उत्पादन ठप्प छ ।
लामो इतिहास बोकेको सिंहदरवार वैद्यखाना विकास समितिले अझै दरबन्दी यकिन गर्न सकेको छैन । ६४ जनाको दरबन्दी रहेको वैद्यखानामा महालेखा परीक्षकको प्रतिवेदन अनुसार समितितर्फ अधिकृत आठौँसहित ४१ र नेपाल सरकारतर्फ स्थायी दरबन्दीका पदमा कार्यकारी निर्देशकसहित ३ जना पदपूर्ति मात्र भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट २०७७ मै ६ हजार २०२ वर्ग मिटर क्षेत्रफलमा रू. १० करोड ७२ लाख ७१ हजारमा निर्मित भवन वैद्यखाना विकास समितिलाई हस्तान्तरण गरिएता पनि उक्त भवन पनि प्रयोगविहीन अवस्थामा छ ।

यस्तो छ वैद्यखाना धरासायी बन्नुको कारण ?
कर्मचारी र सप्लाएर्सहरुको मनोमानीका कारणले वैद्यखाना धरासायी बन्न पुगेको कार्यकारी निर्देशक प्रदीप केसी बताउँछन् । विगत केही महिनादेखि बोर्ड विहीन अवस्थामा रहेको सिंहदरवार वैद्यखानाको अवस्थामा अझै सुधार हुन नसकेको उनले बताए । औषधी उत्पादनका लागि चाहिने कच्चा पदार्थ किन्नको लागि सार्वजनिक खरिद ऐन पालना गर्नुपर्ने हुन्छ, केसीले प्रशासनसँग भने ’यसमा आधिकारिक रूपमा बोलपत्र टेन्डर माग गरिएको दुई–तीन वर्ष भइसकेको छ । पुरानो बोलपत्रमार्फत टेन्डर खोल्न नमिल्ने अवस्था छ ।’ केही समयदेखि विकास समितिहरू खारेज हुने, कार्यालय प्रमुखको झगडा, स्थायित्वको अभाव लगायतका समस्याको प्रत्यक्ष असर औषधी उत्पादनमा परिरहेको केसीले प्रशासनसँग भने ।
समस्या समाधान गरेर अगाडि बढ्ने हो भने सिंहदरवार वैद्यखाना पहिलेकै गतिमा आउन सक्ने उनी बताउँछन् । अहिले तत्काल सार्वजनिक खरिद ऐन अनुसार सोझो खरिदमार्फत कार्यालय प्रमुखलाई १० लाख बजेट बराबरको खरिद गर्ने छुट छ । सोही अनुसार च्यावनपरास उत्पादन भइरहेको उनले बताए । अन्य औषधी चाहेर पनि उत्पादन गर्न नसकिएको उनको भनाइ छ । ऐतिहासिक धरोहर बोकेको संस्थालाई सरकारले प्राथामितामै नपारेको उनले बताए ।
उत्पादनमुखी संस्थाको नीतिमै समस्या रहेको उनको भनाइ छ । उनले भने ‘नीतिमा यो चार सय वर्ष पुरानो संस्था भनिएको छ । तर पनि स्थायी कर्मचारी एउटा पनि छैनन् । विकास समितिका कर्मचारीबाहेक आवश्यक जनशक्तिको दरबन्दी नै छैन ।’
स्थायी प्रकृतिका कर्मचारीको दरबन्दी नभएकै कारण वैद्यखाना टाट पल्टिएको उनको बुझाइ छ । ‘सरकारले चाहेमा यसलाई पुनर्जीवन दिन सक्छ । तर यसमा सरकारको चासो एकदमै कम परेको छ’, उनले भने । विभिन्न प्रकृतिका जडीबुटीबाट औषधी उत्पादन गरिने मेसिनरी सामान भएता पनि आवश्यक समन्वय र सहकार्य कम भएकाले समस्या सिर्जना भइरहेको उनको भनाइ छ ।
‘विकास समिति अन्तर्गतका कर्मचारीको न सरुवा हुन्छ, न कसैले कारबाही गर्न सक्ने अवस्था नै हुन्छ । त्यसैले पनि यस्ता संस्था धरासयी भएका छन’, उनले थपे, ‘ विकास समिति नभए पनि यो संस्था चल्छ तर त्यसको लागि आवश्यक कर्मचारीहरू स्वास्थ्य मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ ।’
यस्तै देशलाई आवश्यक पर्ने औषधी सरकारले चाहेमा सत प्रतिशत उत्पादन गर्ने सकिने एक अधिकृतले बताए । उनले वैद्यखानामा औषधी उत्पादनका लागि मेसिन, जनशक्ति भएता पनि सरकारले आवश्यक भूमिका निर्वाह गर्न नसकेकाले अहिले यो वैद्यखाना जीर्ण अवस्थामा पुगेको बताए । विभिन्न निकायसँगको समन्वयसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि यस तर्फ ध्यान दिनुपर्ने ती अधिकृत बत्ताउँछन् । बेलैमा सम्बन्धित निकायले यस तर्फ ध्यान नदिए अबको केही समयमै यो वैद्यखाना जीर्ण अवस्था पुग्ने निश्चित भएको उनी बताउँछन् ।
उत्पादन घट्दै, घाटामा व्यापार
कुनै समय १०० भन्दा धेरै प्रकारका औषधि उत्पादन गर्ने वैद्यखानालाई अहिले आफ्नो कारखानामा कति थरी औषधि बन्छ भनेरै पनि यकिन छैन । वार्षिक ५ करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने वैद्यखानाको लक्ष्य केही वर्षयता ओरोलो लाग्दै गरेको देखिन्छ ।
वैद्यखानाबाट यस वर्ष १७० प्रकारका ५३ हजार ७८१ किलोग्राम औषधि उत्पादन गर्ने लक्ष्य रहेकोमा ९ हजार २०४ किलोग्राम मात्र उत्पादन भएको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । वार्षिक लक्ष्यको तुलनामा यो १७.११ प्रतिशत मात्र प्रगति भएको हो ।
जडीबुटी खरिद प्रक्रिया दुई वर्षदेखि बढ्न नसक्दा उत्पादन र बिक्रीको दर पनि घटिरहेको छ । यो वर्ष जडीबुटी खरिद नगर्ने हो भने आउँदो साल औषधि उत्पादन नै ठप्प हुनसक्ने अवस्था रहेको सिंहदरवार वैद्यखाना विकास समितिले जनाएको छ ।
समयमा जडीबुटी खरिद गर्न नसक्दा उत्पादन घटेको कार्यकारी निर्देशक केसीले बताए । ‘सिंहदरवार वैद्यखाना आयुर्वेदिक औषधि उत्पादन गर्ने, बिक्री गर्ने र नाफा समेत कमाउन सक्ने संस्था हो । उत्पादन गर्न त जडीबुटी चाहिन्छ,’ उनले भने, ‘खरिद प्रक्रिया अगाडि नै नबढेपछि समस्या भयो ।’ उनले कतिपय जडीबुटी मौसमी हुनाले समयमै किनिएन भने सिजन सिद्धिन्छ र खरिद गर्नै नपाइने बताए ।
कर्मचारी असन्तुष्ट
६४ जनाको दरबन्दी रहेको वैद्यखानामा हाल ४२ जना स्थायी कर्मचारी कार्यरत छन् । सिंहदरवार वैद्यखाना विकास समिति कर्मचारी प्रशासन नियमावली २०६३ को बुँदा ९ (१५) मा कर्मचारी कल्याण कोषको व्यवस्था गरिएको छ । वैद्यखानाका एक अधिकृत यो कर्मचारीको व्यक्तिगत माग नभएकाले संस्थाले नै गर्नुपर्ने दायित्व भएको बताउँछन् ।
‘सुरुदेखि नै व्यवस्थित गर्दै जानुपर्ने दायित्वलाई समयमा नगर्दा पछि संस्थालाई नै बोझ हुन्छ । सञ्चय कोष बापत दिनुपर्ने ११ करोड भन्दा बढी पुगिसकेको छ,’ उनले भने, ‘कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा झन् व्यवस्थापन र बोर्डसँग आन्दोलन गर्नुपर्ने अवस्था छ ।’
अहिलेको नेतृत्वप्रति धेरै जना कर्मचारी असन्तुष्ट छन् । योजनाविहीन नेतृत्वले संस्था डुबाउँदै लगेको वैद्यखानाकै कर्मचारीको आरोप छ । ‘संस्थालाई कसरी लाने हो नेतृत्वमा भर पर्छ । टेन्डर हुन सकेको छैन । औषधि उत्पादन भएको छैन । खर्च र आम्दानीको लेखाजोखा नै छैन भने संस्था कसरी अघि बढ्छ ?’ एक कर्मचारीले भने, ‘म महिनौँदेखि कामविहीन छु । वैद्यखाना जिउँदो लास सरहको संस्था भइसक्यो । लथालिंग व्यवस्थापनले आजित भइसकेका छौँ । काम गर्न सक्ने नेतृत्व दिनुपर्यो ।’
उनले वैद्यखानाले उत्पादन गरेका औषधिहरू अतिथि सत्कारका रूपमा जथाभाबी बाँडिएको पनि बताए । यति लामो इतिहास रहेको वैद्यखाना बचाउन नेतृत्वलाई वास्ता नै नभएको उनको गुनासो छ ।
सुनसान छ वैद्यखाना
सिंहदरवार वैद्यखाना अहिले शून्यमा झरेको छ । वैद्यखानाका उत्पादन खोज्ने धेरै पुराना ग्राहक खाली हात फर्कनुको विकल्प छैन । सबै औषधीको उत्पादन बन्द गरेर वैद्यखाना पछिल्लो समय एउटा च्यावनप्रसामा सीमित भएको छ ।
यसमा राज्यका सम्बन्धित निकायले कहिल्यै चासो दिएको देखिँदैन । उल्टै राजनीतिक नेतृत्वले कार्यकर्ता भर्ती केन्द्र बनाएर यसको शान, मान र प्रतिष्ठान नै खाइसकेका लामो समयदेखि वैद्यखानामा कार्यरत एक कर्मचारीले बताए ।
गुणस्तरीय आयुर्वेदिक औषधीको केन्द्र वैद्यखानाको बिक्री केन्द्र अहिले सुनसान र खण्डहर बनेको छ ।
निष्कर्ष,
वैद्यखाना न केवल आयुर्वेद औषधि उत्पादनको केन्द्र थियो, यो स्वदेशी उत्पादन प्रवर्द्धन र आत्मनिर्भर अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्न सक्थ्यो । साथै, औषधि उत्पादनले स्थानीय जडीबुटीको उपयोग गरी रोजगार सिर्जना गर्ने मात्र नभई राष्ट्रिय आयातमा निर्भरता कम गर्न सक्ने थियो । तर, नीति निर्माणकर्ताहरुको ध्यान नजानु, कर्मचारी व्यवस्थापनमा लापरबाही गर्नु र राजनीतिक हस्तक्षेपले यस संस्थालाई अस्तित्व संकटतर्फ धकेलेको छ ।
यदि सरकारले यो संस्थाको पुनर्जीवनतर्फ गम्भीर हुन सकेमा, यो न केवल आत्मनिर्भर अर्थतन्त्रको आधार बन्न सक्छ, रोजगारी सिर्जनाका लागि पनि उदाहरणीय संस्था बन्नेछ । बेलैमा ध्यान नदिए वैद्यखानाको यो अवस्था राष्ट्रिय अर्थतन्त्रका लागि दीर्घकालीन घाटामा परिणत हुनेछ । अब यसलाई पुनर्जीवन दिन ठोस नीतिगत निर्णय लिनुको विकल्प छैन ।







