काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस बिपीको विचारमा आधारित रहेको बताएका छन् । शुक्रबार धरानमा लेखक तथा साहित्यकार गिरीराज आचार्यद्वारा लिखित ‘बिपीका साहित्यिक विचारहरू’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले काँग्रेस बिपीको विचारमा हिँडेको बताएका हुन् ।
गृहमन्त्री लेखकले काँग्रेस बलियो भए लोकतन्त्रलाई बलियो हुने दाबी गरे । ‘काँग्रेस आज सबैभन्दा ठूलो राजनीति दल हो । विगतको निर्वाचन होस् वा अहिलेको उपनिर्वाचनको सन्दर्भमा होस् । जनताको माया र स्नेहले काँग्रेस पहिलो दलका रूपमा स्थापित भएको छ । जनताको माया र स्नेह काँग्रेसले हमेसा बचाइराख्नुपर्छ, ‘उनले भने ।
यस्तै काँग्रेस र एमाले मिलेर राजनीति समीकरण बनेको भन्दै यसको लक्ष्य भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धि रहेको बताए । ‘त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण कहीँ मान्छेलाई मन्त्री बनाउन बनेको होइन, उनले भने, ‘यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो।’
धरानको विकासका लागि मदन भण्डारी राजमार्ग र किमाथांकाको सडक बाइपास गरी अगाडि बढाउने निर्णय ७ वर्षअघि आफू भौतिक पूर्वाधार मन्त्री हुँदा भएको स्मरण गर्दै त्यसलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
‘आज मदन भण्डारी राजमार्गको काम अगाडि बढेको छ । किमाथांकाको काम अगाडि बढेको छैन । यसलाई सरकारले उच्च प्राथमिकता राखेको छ । धरानको विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु, ’उनले भने ।
कार्यक्रम पत्रकारलाई सम्मान गरिएकोमा धन्यवाद दिँदै गृहमन्त्री लेखकले पत्रकारलाई सम्मान र पुरस्कार गर्न जरुरी रहेको बताए ।