काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
खानेपानी मन्त्रालयको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभागको व्यवस्थापनमा बिहीबार विराटनगरमा आयोजित ‘सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी २०८१’को उद्घाटन कार्यक्रममा मन्त्री यादवले उक्त निर्देशन दिएका हुन् । मन्त्री यादवले भने, ‘जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन, कार्यालयका सूचना तथा गुनासोको प्रभावकारी व्यवस्थापन गराउन, वित्तीय अनुशासन कायम गराउन र बेरुजु फर्छ्यौट र सम्परीक्षणका लागि अविलम्ब पेस गरी, जनतालाई सुशासनको प्रत्याभूति दिलाउन आवश्यक छ ।
देश, राष्ट्र, राष्ट्रियताका पक्षमा उभिएर एवं आम नेपाली नागरिकलाई कर्मचारीले सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्नुपर्ने मन्त्री यादवको भनाइ थियो । मन्त्रालयका सचिव इन्जिनियर प्रमीलादेवी शाक्य बज्राचार्यले आयोजनाको दोहोरोपना हटाउने गरी काम गर्न निर्देशन दिएकी थिइन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले बेरुजु र भ्रष्टाचार फरक कुरा भएकाले बेरुजु फर्छ्यौटका लागि संघीय कार्यालय र प्रदेश डिभिजन कार्यालयको संयुक्त प्रयास आवश्यक रहेको बताएका थिए । ‘हामीले सकेसम्म बेरुजु नहुने गरी काम गर्नुपर्छ ।
भएका बेरुजु फरफारक गरी दिगो विकासको लक्ष्य र संविधानले प्रत्याभूत गरे अनुरूपको खानेपानी तथा सरसफाइको सेवा प्रदान गर्नु प्रमुख कर्तव्य हो, ‘उनले भने ।