काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाजिर गर्ने तर कार्यकक्षमा नबस्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कारबाहीको दायरामा ल्याउने भएको छ ।
मन्त्रालयले बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म दुई सिफ्टमा सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) सञ्चालन गरिरहेको र उक्त समयमा सम्बन्धित कर्मचारीहरू अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बताएको छ ।
विशेष गरी सरकारी अस्पतालका चिकित्सक हाजिर गरेर निजी अस्पतालमा काम गर्ने गरेको गुनासो बढ्दै गएको छ । केही चिकित्सकले सरकारी अस्पतालमा शल्यक्रियाका लागि महिनौँको प्रतीक्षा सूची राख्ने तर निजी अस्पतालमा मोटो रकम लिएर तुरुन्तै सेवा दिने गरेको पाइएको छ ।
सेवाग्राहीहरूले स्वास्थ्य सेवा विभाग, केन्द्रीय सरकारी अस्पतालमा कार्यरत कर्मचारी हाजिरी रेकर्डमा देखिए पनि कार्यकक्षमा भेटिन नसकेको गुनासो गर्दै आएका छन् । यस्ता गुनासोलाई सम्बोधन गर्न मन्त्रालयले कडा अनुगमन थालेको छ ।